हुण्डी कारोबारका आरोपी रु ३० लाखसहित पक्राउ



१५ भदाै । काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद रु ३० लाख सात हजारसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे चौरी देउराली गाउँपालिका–३ घर भई सोही बजारको स्टल नं १८ मा फलफूल व्यवसाय गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र उक्त पसलमा काम गर्ने रमेश तिमिल्सेना रहेका छन् ।

गौतमले हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ्जाँच गर्ने क्रममा गौतमले हुण्डी कारोबारमा प्रयोग गरिएको उक्त नगद बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।