मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य शुरु



२७ साउन । मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउनका लागि मेलम्ची नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ । कुनै समस्या र बाधाअवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख डम्बर अर्यालले बताएका छन् ।

गत असार १ र त्यसपछि लगातार रुपमा आएको बाढीले मेलम्चीमा मात्र १९७ घरमा क्षति पुगेको छ भने एक हजार २८२ रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको बताइएको छ । बाढीका कारण विस्थापित भएकामध्ये कोही टेन्टमा त कोही भाडाको घरमा बस्दै आएका छन् । मेलम्ची र हेलम्बुमा बाढीपहिरोमा परेर २० जना हराइरहेका र ६ जना घाइते भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।


बाढीपहिराका कारण मेलम्चीसहित हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा घर, सडक, पुल, खेती र व्यवसाय गरि करोडाैं रुपैयाँको क्षति भएको बताइएको छ ।