थप २ हजार ५२५ जनामा कोरोना सङ्क्रमण पुष्टी, ३५ को मृत्यु



८ भदाै । पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ८ लाख ३१ हजार ९६८ पुगेको छ । मन्त्रालयका अनुसार ९ हजार ९०९ जनाको पीसीआर परीक्षणमा २ हजार २० तथा ४ हजार ९०१ जनाको एन्टिजेन परीक्षणमा ५०५ जना गरी कूल २ हजार ५२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ८६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा कुल ७ लाख २ हजार १८३ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३.५ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार २५० रहेको छ ।


यस्तै, पछिल्लाे २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ५६८ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर ६२० सङ्क्रमितको सघन उपचार कक्षमा तथा १७० सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाविरुद्धको पहिलो खोप लगाउनेको सङ्ख्या ४९ लाख ४३ हजार ७३२ तथा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ३८ लाख ५७ हजार ५९८ पुगेको मन्त्रालयले जनाएको छ ।