छानबिन समितिले दार्चुला घटनाको प्रतिवेदन बुझायो, एसएसबीको संलग्नता रहेको ठहर



१५ भदाै । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले आफ्नो प्रतिवेदन आज गृह मन्त्रालयमा बुझाएको छ । पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको भनेर आलोचना खेपेको समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।

दार्चुला घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर भएको छ । गृह मन्त्रालयले जयसिंह धामी महाकालीको तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न बनाएको समितिले भारतीय एसएसबीको घटनामा संलग्नता रहेको ठहर गरेको हो । समितिले आजै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो । 


गत साउन १७ गते गठित उक्त समितिलाई सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको कार्यादेश दिएको थियो । साउन १८ गते टोली स्थलगत अध्ययनका लागि त्यसतर्फ गएको थियो । छानबिन नसकिएकाले मन्त्रालयले समितिको म्याद तीनपटक थप गरेको थियो । यसअघि गएको साउन २५ तथा भदौ १ र ८ गते समितिको म्याद थप गरिएको थियो ।

साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइन तरेर भारत जाने क्रममा खसेर धामी नदीमा बेपत्ता भएका थिए । पीडितपक्ष तथा स्थानीयवासीले भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएका कारण खसेको आरोप लगाएका छन् भने कतिपयले डोरी फुस्काइदिँदा नदीमा खसेको बताउँदै आएका छन् ।

छानबिन समितिले प्रतिवेदन बुझाएपछि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समितिले उक्त घटना भारतीय एसएबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’