कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षमा पक्राउ



९ भदाै । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि आज पक्राउ परेका छन् । स्याङ्जा जिल्ला साविक चण्डीकालिका–५ हाल पुतलीबजार नगरपालिका–१४ बस्ने ७५ वर्षीय यमप्रसाद पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

फरार प्रतिवादी पौडेललाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गोप्य सूचनाका आधारमा आज पोखरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पौडेललाई स्याङ्जा जिल्ला अदालतले २०५४ कात्तिक ४ गते कर्तव्य ज्यान मुद्दामा १९ वर्ष छ महिना १२ दिन कैद सजाय तोकेको थियो । पक्राउ परेका पौडेललाई आजै जिल्ला अदालत स्याङ्जामा पेश गरी कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।


जिल्लामा करिब एक हजारको हाराहारीमा फरार प्रतिवादी रहेकामध्ये हालसम्म ५०० भन्दा बढी पक्राउ परिसकेका प्रवक्ता अधिकारीले बताए । उहाँका अनुसार फरार प्रतिवादीमध्ये केही देशभित्रै नरहेका र धेरैको मृत्युसमेत भइसकेकाले अब करिब १५० को हाराहारीमा प्रतिवादी फरार रहेका छन् । फरार रहेकाको खोजीकार्य तीव्र पारेसँगै पक्राउपर्ने क्रम बढ्दै गएको छ ।