ओलीबारे मातृकाको अभिव्यक्ति प्रति एमालेद्वारा आपत्ति, संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन



२९ साउन । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद् मात्रिका यादवले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा अ‍ोलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्दप्रति एमालेले आपत्ति जनाएको छ ।  शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।


एमाले लोकतन्त्रको संघर्षबाट आएको पार्टी भएको बताउँदै उनले यादवले संसदमा बोलेको कुरा संसदको रेकर्डबाट हटाएर संसदको गरिमा कायम गर्न माग गरे ।  उनको मागपछि सभामुख अग्नि सापकोटाले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् । यादवले बिहीबार ओलीमा मेन्टल्ली र फिजिकल्ली समस्या रहेको विवादित अभिव्यक्ति दिएका थिए ।