एमाले सांसदहरूले सभामुखलाई धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनको आपत्ति



७ भदाै । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटालाई लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा सत्तारूढ गठबन्धनले विरोध गरेको छ।

संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरूद्ध हुने गरी सभामुखलाई भदौ ३ र ४ मा एमाले सांसदहरूले संघीय संसद सचिवालय सिंहदरबारमा र अध्यक्ष ओलीले मिडियामार्फत् अभिव्यक्ति दिएकोमा सत्ता गठबन्धनले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।


सोमबार विज्ञप्ति निकालेर नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमख सचेतक देवप्रसाद गुरूङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र सांसद जीवनराम श्रेष्ठले एमालेले धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा विरोध गरेका छन्।

‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै सङ्घीय संसद्को संरक्षक पनि हो र सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन्,’ विज्ञप्तिमा भनिएको छ ।