एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण तीव्र



२२ साउन । भारतबाट पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल आउने विभिन्न जिल्लाका बासिन्दालाई राख्नका लागि मेचीनगर नगरपालिका–१४ मा रु २२ करोडको लागतमा होल्डिङ सेन्टर निर्माण तीव्ररूपमा भइरहेको छ । सरकारले नेपाली सेनालाई होल्डिङ सेन्टर बनाउने जिम्मा दिएको छ ।देशभरका आठवटा सीमानाकामा बनिरहेको होल्डिङ सेन्टरको ठेक्का नेपाली सेनाले हनुमान कन्स्ट्रक्शनलाई दिएको छ । भदौ ३० गते सकिने गरी असार अन्तिम साताबाट काम शुरु गरेको कन्स्ट्रक्शनले २०० बढी मजदूर लगाएर दैनिक काम गरिरहेको नयाँ श्रीनाथ गण चारआलीका गणपति अमरजङ्थ थापाले बताएका छन् ।

उनका अनुसार एक हजार व्यक्ति अटाउन सक्ने क्षमताको होल्डिङ सेन्टरमा २२ वटा पक्की टहरा र १४ वटा किचनहल बन्नेछन् । हालसम्ममा करिब ४० प्रतिशत निर्माण सकिएको छ । “सीमानाका नजिकै जग्गा व्यवस्थापनका लागि खोजी गर्दा केही समय ढिलो भयो”, उनले भने, “बल्ल यहाँ जग्गाको व्यवस्थापन भएर बनाउन शुरु गरेका हौँ । थोरै ढिलो भए पनि तोकिएको समयावधिमै निर्माण सक्ने विश्वास छ ।” निर्माणाधीन होल्डिङ सेन्टर सीमानाकाबाट करिब १५ किलोमिटर टाढा छ ।


चार बिघा ऐलानी क्षेत्रफलमा होल्डिङ सेन्टर बनेपछि पूर्वी नाकाबाट नेपाल प्रवेश गर्नेलाई सोझै ल्याएर राखिने उनको भनाइ छ । सेन्टरको सम्पूर्ण रेखदेख नेपाली सेनाले गर्नेछ । उनका अनुसार होल्डिङ सेन्टरमै स्वाथ्यकर्मीको टोली रहने र केही अक्सिजन शय्यासहित सम्पूर्ण सेवा निःशुल्क हुनेछ । गत वर्ष पनि चन्द्रगढीस्थित प्रदेश प्रतिष्ठान केन्द्र कलबलगुडीमा रहेको अस्थायी होल्डिङ सेन्टरको रेखदेखको सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएको थियो ।