इतिहास रच्दै पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य



संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भएकी छिन् । उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उनी मुख्यमन्त्री बनेकी हुन् । नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भइसकेकि छिन् ।

मुख्यमन्त्री शाक्यको पृष्ठभूमि एमालेका उपाध्यक्ष शाक्य विसं २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् । काठमाडौँ शहरको नेवार समुदायमा जन्मिएर कम्युनिष्ट राजनीतिमा होमिएकी उनकाे धैरे समय राजनीतिमै बितेको छ । विसं २०५६ मा काठमाडौँबाट सांसद बनेकी उनी दोस्रो संविधानसभामा सदस्यसमेत भइन् । उनले पार्टीका विभिन्न विभाग तथा अरु जिम्मेवारीमा सफलतापूर्वक निर्वाह गरीन् । शाक्य झण्डै चार दशक देखि राजनीतिमा क्रियाशील छिन् ।


६८ वर्षीय शाक्य २०३६ सालमा घर छाडेर पूर्णकालीन राजनीतिमा लागेकी थिइन् । भूमिगत राजनीति गर्दा शाक्य २०४५ सालमा इलामका पक्राउ परेकी थिइन् र त्यसपछि अखिल नेपाल महिला सङ्घको अध्यक्षसमेत भएकी थिइन् । उनी निरन्तररुपमा पार्टीमा सक्रिय महिला नेतृमध्ये हुन् । मुख्यमन्त्री शाक्यको जन्म विसं २०१० को दशैँको अष्टमीका दिन काठमाडौँको हनुमानढोका दरबार स्क्वायर नजिकैको झोचेनको नेवार परिवारमा भएको थियो । आमाबुबाका आठ सन्तानमध्ये उनी दोस्रो सन्तान हुन् ।

मुख्यमन्त्री शाक्य र उनका पति अमृतकुमार बोहराबीच विसं २०३८ मा जनवादी विवाह भएको थियो । उनका एक छोरा र एक छोरी छन् । भूमिगत राजनीतिकै क्रममा चिनजान भएका बोहरासँग शाक्यले विवाह गरेकी थिइन् । उनीसहित बोहरा अहिले पनि राजनीतिमा सक्रिय छन् । नेपाली राजनीतिमा अष्टलक्ष्मीको नाम महिला नेतृको अग्रभागमा आउने गर्दछ । उनले १८ वर्षको उमेरमा विद्यालय तह उत्तीर्ण गरेपछि चिनियाँ भाषा अध्ययन गरेकी थिइन् ।

शाक्यले विसं २०२८ मा एसएलसी पास गरेकी हुन् । एसएलसी दिएपछि शाक्य चिनियाँ भाषा सिक्ने काममा लागिन् । किशोरावस्थामै राजनीतिक चेतना जागेकाले उनलाई चिनियाँ भाषा सिक्ने अवसरले राजनीतिमा जाने प्ररेणा मिलेको थियो । उनीले रत्नराज्य क्याम्पसबाट उच्च शिक्षाको अध्ययन थाल्नु भई प्रमाणपत्र तह उत्तीर्ण गरी स्नातक तह अध्ययनरत रहँदा तत्कालीन शिक्षा अव्यावहारिक र ‘बुर्जुवा शिक्षा’ रहेको भन्दै अध्ययनलाई बीचमै छाडेकी थिइन् ।

मुख्यमन्त्री शाक्यले वामपन्थी बुद्धिजीवी महेशमान श्रेष्ठमार्फत साम्यवादका बारेमा प्रशिक्षण पाएकी थिइन्। चिनियाँ भाषाको ज्ञान भएकाले उनले माओत्सेतुङको जीवनी र चीनको पुनःनिर्माणमा उनको योगदानका बारेमा अध्ययन गरेकी थिइन् । चिनियाँ भाषा सिकेपछि शाक्य चीनको राजनीतिक व्यवस्थालाई बुझेकाले कम्युनिष्ट राजनीतिमा लाग्न बल पुगेको बताउछिन् । उनले विभिन्न समयमा जेल जीवनसमेत बिताइन् । अखिल नेपाल महिला सङ्घको कार्यक्रम गर्दा इलाममा जेल जीवन बिताएकी थिइन् ।

विसं २०४६ मा झापामा पार्टी कमिटीको बैठक भइरहेका बेला उनीसहित अन्य थुप्रै नेता पक्राउ परेका थिए । उनले जेल जीवन बिताउँदा झापामा सिस्नुपानी लगाएको बताइन्छ । प्रहरीले दैनिक यातना दिँदा पनि हिम्मत नहारेकी उनी विसं २०४६ मा देशमा बहुदल स्थापना भएपछि जेलमुक्त भएकी थिइन् । शाक्यले २०३६ देखि २०४६ सालसम्म सिन्धुपालचोकदेखि झापासम्मका गाउँमा राजनीतिक चेतनाको विकास गर्दै आएकाे बताइन्छ । । उनले तत्कालीन समयमा मेची अञ्चलको महिला सङ्घको नेतृत्वसमेत गरेकी थिइन् ।