इञ्जिनीयरिङ कलेजलाई पढाइ शुल्क नलिन शिक्षा मन्त्रालयको पत्राचार



सरकारले प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको निर्णयबमोजिम इञ्जिनीयरिङ कलेजलाई कोभिड–१९ सङ्क्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिन विभिन्न विश्वविद्यालयलाई आज पत्राचार गरेको छ । सो समितिले मङ्गलबार ‘इञ्जिनीयरिङ कलेजको विवादित शुल्कका विषयमा कोभिड–१९ सङ्क्रमण कायमै रहेका अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिने व्यवस्था गर्न’ सरकारलाई निर्देशन दिएको थियो ।

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाबाट आज त्यसबारे निर्णय भई सम्बन्धित विश्वविद्यालयलाई बोधार्थ दिइएको मन्त्रालयले जनाएको छ । पत्रमा सोबारे निर्णय कार्यान्वयन गरी सोको प्रगति विवरण मन्त्रालयलाई उपलब्ध गराइदिन भनिएको छ । सो पत्र त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यलाय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयलाई पठाइएको छ । शुल्क विवाद हुँदा उक्त सङ्कायका परीक्षा अन्योलमाा परेका थिए ।