अफगानिस्तानबाट थप ८७ नेपालीकाे उद्धार,२५६ जनाले भरेका छन् स्वदेश फर्कन विवरण



२ भदाै । विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेको अफगानिस्तानबाट फर्कनका लागि मंगलबार साँझसम्म २५६ जना नेपालीले सरकारलाई विवरण दिएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागको वेब पोर्टलमा मंगलबार साँझ ५ बजेसम्म २५६ जना नेपालीले आफ्नो विवरण दर्ता गरेका हुन्।

मन्त्रालयले अफगानिस्तानमा रहेका थप नेपालीहरूलाई कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/  अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोबाइल नम्बरहरु +९७७ ९७४९३२६४५८  (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरेको छ।


‘उद्धारको पर्खाइमा अफगानिस्तानमा रहनुभएका नेपालीहरूलाई उद्धार नहुँदा सम्म जो जहाँ रहनुभएको छ तोकिएको सम्पर्क नम्बरहरूमा सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालीहरूबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न र सुरक्षित रूपमा रहन अनुरोध गरिन्छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।

उद्धार गर्ने कार्यमा संस्थागत रूपमा अफगानिस्तानमा रोजगारीका लागि नेपाली नागरिकलाई पठाउने वैदेशिक रोजगार व्यवसायीहरूलाई समेत उद्धार प्रकृयामा सहयोग गर्न अनुरोध गरिएको परराष्ट्रले जनाएको छ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली उद्धार गर्नका लागि दुइटा उपाय लगाएको छ। वैधानिक बाटोबाट श्रम स्वीकृति लिएर गएकाहरूको उद्धारका लागि उनीहरू कार्यरत मिसनहरूसँग नै समन्वय गरिएको छ।

‘अमेरिका, बेलायत, जर्मनी, जापान र राष्ट्र संघका विभिन्न मिसनलाई हामीले तपाईंहरूको अफिसमा कार्यरत नेपालीलाई स्वदेश फर्किन सहयोग गर्नुस् भने औपचारिक अनुरोध नै पठाएका छौं। उहाँहरूले सहयोग पनि गर्नुभएको छ। केही नेपाली स्वदेश आइसक्नुभएको छ।’ परराष्ट्र प्रवक्ता सेवा लम्सालले सेतोपाटीसँग भनिन्,‘आफ्नै हिसाबले गएर ग्रिन जोनभन्दा बाहिर काम गर्ने नेपालीको हामी अहिले तथ्यांक संकलन गरिरहेका छौं। उहाँहरू कुन-कुन शहरमा कति जना हुनुहुन्छ भने तथ्यांक आएपछि सरकारले निर्णय गरेर जहाज पठाउँछ।’

यसअघि मंगलबार दुइटा चार्टर्ड फ्लाइटमा २०५ जना नेपाली काठमाडौं आएका थिए। दुबै चार्टर्ड जहाज कुवेतबाट नेपाली ल्याएर आएका थिए। जजिरा एयरलाइन्सको जहाजबाट दिउँसो ११८ र राति ८७ जना नेपाली काठमाडौं पुगेका हुन्।