बाढीमा परी टर्कीमा २७ को मृत्यु



२९ साउन । टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरुले जनाएका छन् ।

बाढीमा परेर केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको पनि समाचारमा जनाइएको छ । राष्ट्रपति रेसेप एड्रोगानले विनाशकारी बाढी पहिराको घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । टर्कीमा बेलाबेलामा यस्तै प्राकृतिक प्रकोपका घटनाहरु भइरहने गरेका छन् । साथै जलवायु प्रदूषणका कारण पनि यस्ता घटनाहरु संसारभरि नै बढेको विज्ञहरुले बताएका छन् ।