पार्टी सनाखतका लागि माधव नेपाल समूह निर्वाचन आयोगमा



९ भदाै । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरु दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएक छन् । नेता नेपालसहितका उहाँका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका साथ सनाखत गर्न आयोग पुगेका हुन् । यसअघि नेपालसहितका नेताले आयोगमा नयाँ दल दर्ताका लागि आवेदन गरेका थिए । आयोगले आवेदन गरेका सबैलाई सनाखतका लागि आज बोलाएको थियो ।

प्रस्तावित दलका नेता जगन्नाथ खतिवडाले दल दर्ताका निम्ति गणपूरक सङ्ख्या पुग्ने सदस्यहरूका साथ आफूहरू आयोगमा उपस्थित भएको बताए । उनीहरूका साथमा प्रदीपकुमार नेपाल पनि छन् । यसैगरी महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका आवेदनकर्ताहरू पनि सनाखतका लागि आयोगमा उपस्थित भएका छन् । ठाकुर नेतृत्वको पार्टीले ३० सदस्यीय कार्यसमिति प्रस्ताव गरेको नेता राजेन्द्र महतोले जानकारी दिए ।