नेपालमा थप २९७७ जना सङ्क्रमित, १६७८ सङ्क्रमणमुक्त



८ साउन । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई पिसिआर र ३ हजार ६१० को एन्टिजिन विधिबाट गरी जम्मा १७ हजार ३०८ जनामा भएको परीक्षणमा सो सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नै १८ जनाको कोभिडका कारण मृत्यु भएको छ । हाल मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रुपन्देही गरी देशभरका १० जिल्लामा सक्रिय सङ्क्रमित ५०० भन्दा बढी रहेका छन् । २४ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० भन्दा बढी रहेको छ ।


काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ५ हजार ७८२, ललितपुर १ हजार ११६ र भक्तपुरमा ९४७ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म देशभरमा गरी ३५ लाख १७ हजार ८८९ जनाको पिसिआर र २ लाख ८२ हजार १७९ को एन्टीजेन विधिबाट परीक्षण भएको छ । अहिलेसम्म पिसिआर विधिबाट भएको परीक्षणमा जम्मा पोजेटिभ छ लाख ७६ हजार ७०८ देखिएका छन् ।

हालसम्म सङ्क्रमितमध्ये ६ लाख ३९ हजार ३६८ लाई निको भएको छ । सङ्क्रमितमध्ये निको हुने दर ९४ दशमलव पाँच प्रतिशत रहेको छ । हालसम्म ९ हजार ६७९ को मृत्यु भएको छ । कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ३३ लाख ४९ हजार ९५१ रहेको छ भने पूर्ण मात्राको खोप लगाउनेको सङ्ख्या १३ लाख १२ हजार १२ रहेको छ । सङ्क्रमितमध्ये पुरुष ६० दशमलव ३८ प्रतिशत र महिला ३९ दशमलव ६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।