भारी मन र बहुत दुःखका साथ म यी हरफ लेख्दैछु, हामीलाई यतिबेला मृत्युशोक परेको छ । हिजो देहान्त हुनुभएका नेपाल ट्रेड युनियन काँग्रेसका बरिष्ठ नेता तथा नेपाली काँग्रेस का होनहार र सम्भाव्यता बोकेकानेता, हाम्रा प्रिय ज्वाईं रामजी कुँवरको अन्त्येष्ठी आज पोखरामा नागरिक सम्मानका साथ भयो ।
उहाँको पार्थिव शरीर पञ्चतत्वमा विलीन हुँदैगर्दा र जीवन धुँवामा उडेर बादलमा बिलाउँदा मैले उहाँसँगको लामो जीवनयात्रा सम्झें । विगत पाँच दशकभन्दा लामो सहयात्राका अनेकौं अविष्मरणीय बिम्बहरू मनभित्र जागृत भए । प्रियजनलाई गुमाउनुको सबभन्दा कठीन पक्ष, उनलाई दुःखी मनले अलविदा भन्नमा भन्दा पनि उनी बिना उत्पन्न शून्यताबीच हुने बाँकी जीवनको अभाव, शुन्यता र न्यास्रोपन भोगाई र अनुभूति हो । कुनैकुनै मृत्युले हृदयमा यस्तो आँधिबेहरी ल्याउँछ, जसको परिणाम र प्रभाव थामिन लामो समय लाग्न सक्छ । यो दुःखद निधनको पीडा पनि मेरो मनबाट मेटिन लामो समय लाग्ने निश्चित छ ।
रामजी कुँवरको निधनबाट उत्पन्न दुःखलाई परिभाषित गर्न मसँग शब्द छैन । म अझै पनि दुःखी र गुमाएको मनले उहाँका बारेमा यी हरफहरू लेखिरहेको छु । परिचित वा इष्टमित्र वा आफन्त जसको निधनको खबर सुनेपनि अन्त्येष्ठीमा उपस्थित भएर शोकाकुल आफन्तलाई सान्त्वना दिने मेरो अटुट क्रम थियो । तर म आज आफैं सान्त्वनाविहिन तथा भावविह्वल बनें । उहाँको उमेर सम्झें, आजको युगमा ६०/६२ वर्षको उमेर मृत्युको कारण हुनै सक्दैन ।
२०३५ साल माघ २४ गते मेरी माईली बहिनी सुशीलाका साथ उहाँको वैवाहिक जीवन शुभारम्भ भएदेखि हाम्रा दुई परिवारका बीच गाढा सम्बन्ध बन्यो । तर उहाँहरूसँग मेरो राजनीतिक सम्बन्ध र सान्निध्य, २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना गर्ने क्रममा पोखरा जाँदा प्रथम भेट भएको हो । पोखरामा कुँवर परिवार तत्काल पार्टी प्रतिबंधित रहेको अवस्थामा नेपाली कांग्रेस पार्टीका नेता ,कार्यकर्ता हरुको लागि अत्यन्त सहयोगी परिवारको रूपमा थियो।पारीवारिक नाता त्यसपछि मात्र आएको हो ।
हामी नातामा जे भए पनि राजनीतिक तथा सामाजिक रुपमा उहाँ मेरो भरोसाको मित्र तथा सहधर्मी हुनुहुन्थ्यो, जो हाम्रो जीवनको सबभन्दा महत्वपूर्ण आयाम हो। जीवनका धेरै उतारचढाव उहाँले देख्नुभयो, तर आफूलाई सँधै समुद्रझैँ स्थिर र धैर्यवान् राख्दै विवेकशील भएर पारिवारिक जीवन पनि चलाउनु भयो । नेपालभरि, खासगरी कास्कीमा उहाँले कमाउनु भएका असंख्य इष्टमित्रहरू आज पनि यथावत हुनुहुन्छ । सत्य र न्यायोचित यथार्थको आधारमा निर्भीकताका साथ घच्घच्याईरहने विशेषता उहाँको थियो । हृदयमा ‘नबिराउनु नडराउनु’ भन्ने मन्त्र बोकेको भन्न सकिने, फराकिलो मन, उदात्त विचार, निःस्वार्थ योगदान र लोकप्रिय छविका धनि व्यक्तित्वको साथ पाउनु मैले आफ्नो परम सौभाग्य मान्दैआएको थिएँ । मेरो त्यो गौरब र सौभाग्य अब इतिहास र स्मृतिमा मात्र रहेको छ । नेपाली काँग्रेसले भरोसा योग्य व्यक्तित्व गुमाएको छ भने लोकतान्त्रिक आन्दोलनलाई गम्भीर क्षति भएको छ ।
राजनीतिक वा सार्वजनिक जीवन बिताउनेहरूको मृत्युपछि पनि जीवन हुन्छ । उहाँको पार्थिव शरीर पञ्चतत्वमा विलिन भयो, तर उहाँका योगदान, विचार, सपना र लक्ष्यहरूलाई बाँचेकाहरूले सही अर्थमा पहिचानमा लिन सक्नुपर्छ । उमेरमा दश–आठ वर्ष जेठो वा नाताको निकटता भएर मात्र होइन, उहाँका मर्म र भावना, जीवनका विविध पक्ष र आयामलाई म जान्न सक्दछु । उहाँको सपना र लक्ष्य, चिन्तन र स्वभाव, विचारधारा र आदर्श, व्यक्तित्व र योगदानका धेरै कुराहरू छन्, कतिपय जगजाहेर छन्, कतिपय सुषुप्त छन् । इमानदार, स्पष्टवक्ता, सत्य र खरो बोल्न पछि नहट्ने, नचाहिने कुरा नगर्ने, सबैलाई मित्रता दिन र अरुको मित्रता पाउने उच्चस्तरको मानसिकता र स्वभाव थियो उहाँको ।
अब भाञ्जा प्रशान्त कुँवरको काँधमा जिम्मेवारी र उहाँको विरासत तथा परिवार धान्ने चुनौती आएको छ । असामयिक निधनबाट बहिनी सुशीलालाई असह्य पीडा भईरहेको छ । सो पीडामा मलम लगाउने जिम्मेवारी छ । यो बोझ उठाउन उनी एक्लो छैनन्, हामी पनि छौं ।रामजीले अधुरो छाडेर जानुभएका वा गर्न चाहनुभएका अधुरा इच्छालाई सार्थकता दिनु हामी सबैको कर्तब्य मैले सम्झेको छु ।
उहाँको असामयिक देहान्त स्वीकार गर्न नसके पनि स्वीकार गर्नु परेको छ । यो शोकलाई सामर्थ्यमा रुपान्तर गर्दै उहाँले अधुरो अवस्थामा छोडेर गएका प्रयासलाई पूर्णता दिनुछ । उहाँको अन्त्येष्ठीमा देखाउनु भएको सम्मान र श्रद्धाका लागि पोखरा तथा वरपरका दिदीबहिनी दाजुभाईहरू पत्रकार साथीहरु, मुख्य मन्त्री ज्यु, नेका केन्द्रीय सदस्य तथा विभिन्न पार्टी का नेता तथा कार्यकर्ता लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद छ । अलविदा श्रद्धेय ज्वाईं सा’ब रामजी कुँवरज्यू !