चीनबाट ३० लाख डोज खोप आउँदै



काठमाडौँ : सरकारले चीनबाट कोभिडविरुद्धको ३० लाख डोज खोप खरिद गर्ने भएको छ । उक्त खोपको पहिलो लट आउँदो शुक्रबार नेपाल भित्रिने छ । सरकारले भारतबाट अग्रिम भुक्तानीसहित खरिद गरेको १० लाख डोज खोप समयमा नआएपछि सरकारले अर्को विकल्पको रूपमा उत्तरी छिमेकी चीनबाट खोप खरिद गरेको हो । सरकारले उक्त खोप कतिमा खरिद गरेको बाहिर ल्याएको छैन । नेपाल वायुसेवा निगमले खोप आयातका लागि आइतबार उडान तालिका सार्वजनिक गर्ने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनकाअनुसार सरकारले चीनबाट खोप ल्याउनका लागि नै उडान तालिका सार्वजनिक गर्न लागेको हो । ‘पहिलो चरणअन्तर्गत १० लाख डोज खोप लिन निगमको जहाज आउँदो बिहीबार बेलुका ११ बजे गएर शुक्रबार आइपुग्छ’ पौडेलले भने, ‘चीनबाट कूल ३० लाख डोज खोप ल्याइनेछ ।’ यस अघि चीन सरकारले अनुदान स्वरूप १८ लाख डोज खोप दिइसकेको छ । पहिलो लट (८ लाख) गत चैत र दोस्रो लट (१० लाख) जेठमा ल्याइएको थियो । जनतालाई सरकारले तत्काल खोप लगाउने भने पनि त्यसमा ढिलाइ भएपछि चीनसँग सिनो फार्म अन्तरगतको भेरोसेल खोप ल्याउन लागेको हो । भारतसँग पनि सरकारले लगातार अग्रिम भुक्तानी गरेको १० लाख डोज खोपको ताकेता गरिरहेको छ ।