वीपी स्मृति दिवसः बाटो भुलेको कांग्रेस

दुरदर्शी राजनेता विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको निधन भएको आज साउन ६ गते देखि ३९ वर्ष पुरा भई चालिस वर्ष लागेको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपीको ६८ वर्षको उमेरमा २०३९ साल साउन ६ गते निधन भएको थियो ।
आधुनिक नेपालमा करिब तीन दर्जन नेता प्रधानमन्त्री भइसकेका छन् । जसमध्ये वीपी कोइरालाले २०१६ साल जेठ देखि २०१७ साल पुससम्म जम्मा १८ महिना प्रधानमन्त्री पद संहाले । तर यो अवधीमा जति काम तथा निर्णय भए त्यस पछिका प्रधानमन्त्री तथा शासकहरुले देशको सामाजिक , आर्थिक, कुटनीतिक , शैक्षिक क्षेत्रमा एक इन्च इट्टा थप्न सकेका छैनन् । त्यसैले वीपीलाई दुरदर्शी राजनेता भनिएको हो । त्यतिबेला वीपीले चीन, अमेरिका , शोभियत संघ जस्ता देश सँगको संवन्ध सुदृढ बनाए । नेपाल राष्ट्रबैंक , त्रिभुवन विश्व विद्यालय को स्थापना गरे । राजा रजौटा उन्मुलन गराए , विर्ता तथा जमिन्दारी प्रथा उन्मुलन गराए । ठूला उद्योगहरुको स्थापना गराए ।
वीपी कोइराला नेपाली कांग्रेसका संस्थापक सभापति हुन् । नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा भएको जनक्रान्तिले नेपालीहरुलाई भावनात्मक रुपमा एक सुत्रमा बाँधेको हो । त्यस अघि एउटै उद्देस्यका लागि मेचीदेखि काली र हिमालदेखि पहाडसम्मका जनता संगठित भएका थिएनन् । तर विपीले झापाको राजवंशी र दार्चुलाको ब्यासी , ताप्लेजुङको शेर्पा र कन्चनपुरको रानाथारु, डोटीको ठकुरी र इलामको लिम्बु , मुस्ताङको थकाली र रौतहटको मुसलमानलाई एउटै संगठनको छातामुनी ल्याएर उनीहरुको आपसी छलफल तथा सुझाव अनुसार नेपाली कांग्रेसलाई अघि बढाए । जसले गर्दा नेपाली –नेपाली वीचको भावनात्मक एकता सुदृढ भयो ।
राणा शासन फालिएर प्रजातन्त्र स्थापना भएका कारण मात्रै २००७ सालको जनक्रान्तिलाई सर्वाधिक उचाईमा राखिएको होइन । वास्तवमा पृथ्वीनारायण शाहले आरम्भ गरेको भौगोलिक एकीकरणलाई २००७ सालको जनक्रान्तिले प्राण भरेको हो । २००७ सालको क्रान्ति सम्पन्न नहुँदा सम्म काठमाडौं उपत्याकालाई मात्रै नेपाल भनिन्थ्यो । उपत्याकावासीलाई मात्रै नेपाली भनिन्थ्यो । काठमाडौं उपत्याकमा प्रवेश गर्नका लागि अन्य भुभागका जनतालाई भीषा चाहिन्थ्यो ।
२००७ सालको जनक्रान्ति सम्पन्न भए पछि मात्रै मेचीदेखि काली र हिमालदेखि तराई सम्मका जनताहरुले आफ्नो देश नेपाल हो र आँफुहरु नेपाली हौं भन्ने थाह पाएका हुन् । पृथ्वीनारायण शाहको नेतृत्वमा निर्माण भएको भूगोलको खाकालाई सार्वभौम देशका रुपमा प्राण भर्ने कार्यको अगुवाई वीपीले नै गरेका हुन् । त्यसैले वीपी कोइरालालाई दूरदर्शी राजनेता भनिएको हो ।
वीपीले २००३ सालमा नेपाली कांग्रेसको स्थापना गरी देशको प्राण भर्ने कामको थालनी गरे यता जहानियाँ राणा शासन मात्रै होइन, निरंकुश राजतन्त्र पनि समाप्त भइसकेको छ । २०६२–२०६३ सालमा निरंकुश राजतन्त्र अन्त्य गर्ने आन्दोलनको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको हो । तर आज नेपालको भूगोल र प्राण कमजोर हुँदै गएको छ । लिम्पियाधुरा , सुस्ता , पशुपतिनगर लगायत करिव ७२ ठाउँमा नेपालको सीमा मिचिएको छ । नेपाली –नेपालीबीचको एकतामा खलबलिन थालेको छ ।
चार वर्ण छत्तिस जातको साझा फुलबारीका रुपमा रहेको नेपालका राजनीतिक दलहरु भित्र निश्चित फूलहरुमात्रै फुलेको फक्रेको देखिएको छ । वीपी कोइरालाले राष्ट्रिय एकताको मेरुदण्डका रुपमा राजनीतिकदलहरुको परिकल्पना गरेका थिए । आफ्नो पार्टी नेपाली कांग्रेसलाई सोही अनुसार सबै जात जाति , क्षेत्र तथा सुमदायको साझा पार्टी बनाएका थिए । आज भन्दा ७० वर्ष अघि नै नेपाली कांग्रेसका निर्णायक तहमा दलित, आदिवासी जनजाति तथा मधेसी समेत पुगेका थिए ।
वीपीले पार्टीमा होस् या सरकारमा होस पदीय अवशर प्रदान गर्ने मामिलामा जात जाति, भूगोल समुदाय तथा लैंङिगक सहभागितालाई सर्वोपरी बनाएका थिए , तर आज नेपाली कांग्रेस भित्र गुट र उपगुटका आधारमा पदीय भागवण्डालाई औपचाकिता दिन थालिएको छ । अरु पार्टीलाई समेत आदर्शको पाठ सिकाएर देश बलियो बनाउने जिम्मेवारी बोकेको अभिभावक पार्टी हो नेपाली कांग्रेस , तर नेपाली कांग्रेस आँफै चुकेका कारण अरु पार्टीहरु समेत गम्भीर बन्न सकेका छैनन् ।