लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुखमा सिफारिस



१२ साउन । सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो । 

यसअघि ओली सरकारले गण्डकीमा अमिक शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो । प्रधानमन्त्री देउवाको अध्यक्षतामा मंगलबार बसेको बैठकले सीता कुमारीलाई हटाएर पृथ्वीमान गुरुङलाई ल्याएको हो ।


त्यसैगरी लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर उनको ठाउँमा अमिक शेरचनलाई ल्याइएकाे छ । संविधान अनुसार एकै प्रदेशमा एकचोटि भन्दा बढी प्रदेश प्रमुख बन्न नपाइने भएकाले शेरचनलाई गण्डकी नपठाएर लुम्बिनी प्रदेश प्रमुखमा सिफारिस गरीएकाे हाे ।

मन्त्रिमपरिषद्ले सिफारिस गरेका उनीहरूलाई राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने छन्।