राष्ट्रिय सरोकार प्रतिवेदन पेश



१३ साउन । राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७७÷७८ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा समितिका सभापति दिलकुमारी रावलले समितिको वार्षिक प्रतिवेदन पेश गरेकि हुन् । समितिले कोभिड–१९ महामारीसँग जुध्न सरोकार पक्षसँग छलफल गर्न आवश्यक निर्देशन दिएको थियो ।

समितिले अघिल्लो आर्थिक वर्षमा कोभिडको प्रभाव र आगामी रणनीतिबारे सरोकारविज्ञसँग छलफल गरेको थियो । कतिपय पूर्वनिर्धारित कार्यक्रम महामारीका कारण सम्पन्न गर्न नसकिएको सभापति रावलले जानकारी दिएका छन् । एक वर्षका अवधिमा समितिका २५ बैठक र समिति मातहतका उपसमितिका २७ बैठक बसेका थिए ।


राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ पारित गर्ने कार्यसूची रहे पनि हटाइएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन १८ गते अपराह्न १ः०० बजे बस्नेछ ।