काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् ।
उनले पार्टीमा देखिएको विवाद समाधानका लागि वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका छन् । उनले भने, ‘माधवकुमार नेपाल पार्टीमा आउने भए दोस्रो अध्यक्ष दिन्छु, त्यसका निम्ति केन्द्रीय कमिटीलाई सम्झाउँलासम्म भनेको थिएँ । तर उहाँले बहुमत नभएको कमिटीका निर्णय कहाँ मान्छु भनेको समेत साथीहरूले सुनाउनुभयो ।’
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्र्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने अध्यक्षले प्रतिवद्धता जनाउनुभएको जानकारी दिए । उनका अनुसार बैठकमा अध्यक्ष ओलीले पार्टी आन्दोलनलाई घात गर्ने कुनै खालका हर्कतलाई भने सफल हुन नदिइने बताएका थिए ।
एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।
बैठकले जनताको पक्षमा काम गर्र्दै पार्टीलाई राष्ट्रिय राजनीतिको पूरानै अवस्थामा पुर्याउने, प्रतिपक्ष दलको हैसियतमा जनसरोकारका चासोलाई सम्बोधन गर्न सरकारलाई दवाव दिने गरी अघि बढ्ने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए । बैठकले बिहीबार नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस तुलसीलाल स्मृति प्रतिष्ठानमै दिउँसो १ बजे मनाउने निर्णय पनि गरेको छ ।