काठमाडौं । माओवादी केन्द्रले उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा देव गुरुङलाई अघि सार्ने तयारी गरेको छ । यद्यपी जनार्दन शर्माको पक्षमा पनि चर्को लविङ जारी छ ।
नयाँ सरकार गठन र मन्त्रिपरिषद् विस्तारका विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि कांग्रेस र माओवादी छलफलमा जुटेका हुन् ।
नेकपा माओवादी केन्द्रले ९ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।
देउवाले आजै प्रधानमन्त्रीको शपथग्रहण गर्दैछन् । त्यसअघि आजै कांग्रेस र माओवादीबाट २/२ जनाले मन्त्रीको शपथ गर्दैछन् । यसका लागि कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल गर्दैछन् ।
एमालेको माधव नेपाल समूह भने गठबन्धनबाट अलग्गिएकाले मन्त्री बन्ने सम्भावना छैन । जनता समाजवादी पार्टीको बाबुराम-उपेन्द्र यादव समूहमा आन्तरिक किचलो रहेकाले तत्कालै मन्त्रीको नाम टुंग्याउन कठिन छ ।
यस्तै राष्ट्रिय जनमोर्चामा पनि अहिले नै सरकारमा सहभागी नहुने बताइएको छ ।
सोमबार अपरान्ह कोटेश्वरमा माधव नेपालको घर नजिकै बसेको विपक्षी गठबन्धनको बैठकमा काँग्रेस सभापति देउवाले सरकारमा सहभागी हुन विपक्षी गठबन्धनका नेताहरुलाई निम्तो दिएका थिए ।
विपक्षी गठबन्धनको बैठक बसिरहेकै बेला शीतल निवासबाट मंगलबार शपथ ग्रहणका लागि देउवालाई खबर आएको काँग्रेस नेताहरुले सूचना दिएका थिए । त्यसपछि भोलिको सपथ ग्रहणमा क–कसलाई मन्त्री बनाउने भन्नेबारे दलगत रुपमा छलफल भएको थियो ।
देउवाको निम्तालाई अस्वीकार गर्दै एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टीको परिस्थिति अलि फरक भएकाले एमालेको संस्थागत निर्णयअनुसार अघि बढ्ने प्रतिक्रिया दिए ।
अहिले गठबन्धनका अन्य दलहरूको सहभागितामा सरकार बनाउन र विस्तारै एमालेलाई पनि संस्थागत रुपमै समेट्न नेता नेपालले देउवालाई आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए । तत्कालका लागि भने आफ्नो समूह सरकारमा सहभागी नहुने एमाले नेता नेपालले देउवालाई जवाफ दिएको स्रोतले बतायो ।
बैठकमा सहभागी नेताहरुका अनुसार नेता नेपालले जस्तै जसपाका उपेन्द्र यादव र डा। बाबुराम भट्टराईले पनि आफ्नो पार्टी भोलि नै सरकारमा सहभागी हुने स्थिति नरहेको बताएका छन् । साउन ७ गते पछिमात्रै सरकारमा जाने परिस्थिति बन्ने जसपाका नेताहरुले देउवालाई जवाफ दिएका छन् ।
एमालेमा जस्तै जनता समाजवादी पार्टीमा पनि आन्तरिक विवाद छ । महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमै पुगेर पार्टी विभाजन गर्ने सहमति जनाइसकेका छन् । यसबारे निर्णय गर्न आयोगले गठन गरेको इजलासमा साउन ३ गते सुनुवाई हुँदैछ ।
सोमबारको बैठकमा ‘वेइटिङ प्राइमिनिस्टर’ देउवाले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पनि मन्त्री बन्न प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावमै सही थप्दै माधव नेपाल र प्रचण्डले पनि पौडेललाई मन्त्री बन्न आग्रह गरेको स्रोतले बतायो ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यसअघि नै उपप्रधानमन्त्री बनिसकेकाले जनमोर्चा पनि सरकारमा सहभागी बन्दा फरक नपर्ने नेताहरुले बताएका थिए । तर, पौडेलले यसबारे पार्टीमा कुनै निर्णय नभएका कारण भोलिको सपथ ग्रहणमा मन्त्री नबन्ने देउवालाई जवाफ दिएकी छिन् ।
माधव नेपाल, उपेन्द्र यादवको जसपा र राष्ट्रिय जनमोर्चाले तत्कालै मन्त्री बन्न अस्वीकार गरेपछि अब काँग्रेस र माओवादीबाट कम्तिमा एक÷एकजना मन्त्री मात्रै राखेर मंगलबार देउवाले प्रधानमन्त्रीमा सपथ लिने विपक्षी गठबन्धनका एक नेताले बताए ।
यद्यपि पहिलो चरणका मन्त्रीहरुको टुंगो मंगलबार बिहान मात्रै लाग्ने गठबन्धनका नेता बताउँछन् ।
माओवादी र काँग्रेसबाट को–को मन्त्री हुने भन्ने पनि टुंगो लागे पनि नाम सार्वजनिक गरिएको छैन ।