महालक्ष्मी नगरपालिकाले किसानलाई दियो २४ लाख



२२ असार । महालक्ष्मी नगरपालिकाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत यहाँका किसानलाई रु २२ लाख सहयोग गरेको छ । नगरपालिकालाई कृषिको माध्यमबाट अघि बढाउने योजनाबमोजिम आज महालक्ष्मीले सो मूल्य बराबरको रकम किसानलाई सहयोग गरेको हो । महालक्ष्मीलाई तरकारीका साथै पशुपालन व्यवसायमा आत्मनिर्भर बनाउँदै अघि बढ्न २१ कृषकलाई रु २२ लाख मूल्य बराबरको चेक हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताएका छन् ।

उनले भने, “यहाँ कृषि फर्म दर्ता गरी तरकारीलगायत पशुपालन गरी बसेका वडा नं ८ लुभु र नं ९ लामाटारका किसानको व्यवसाय अभिवृद्धि गर्न सहयोग गरेका हाँै ।” आगामी दिनमा पनि कृषि बीमा तथा प्रविधि हस्तान्तरण अनि बजारीकरण र व्यवसाय स्तरोन्नतिमा थप सहयोग गर्ने योजना बनाइरहेको श्रेष्ठले जानकारी गराएका छन् । नगरपालिकामा विगत लामो समयदेखि सञ्चालनमा रहेको ‘प्रतीक एग्रो फरेष्ट प्रडक्सन’ नामक बोटबिरुवा उत्पादन गर्ने नर्सरीलाई अर्काे रु दुई लाख सहयोग गरेको कृषि शाखा अधिकृत टङ्क अधिकारीले बताए ।


उनले भने, “यस नर्सरीले तरकारी फलफूललगायत वनजङ्गलमा लगाइने बिरुवासमेत उत्पादन र कारोवार गर्दै आएकाले आउँदा दिनमा अझ धेरै बिरुवा निकालोस् भन्ने मनसायका साथ सहयोग गरेका हाै ।” महालक्ष्मीको लुभु र लामाटार दुई वडामा प्रर्याप्त खेतीयोग्य जमिन रहँदा त्यहाँका मेहनती किसानलाई आर्थिक सहयोग गरी हराभरा बनाउन लागि परेको अधिकारीको भनाइ छ ।