भानुजयन्तीका अवसरमा स्रष्टा सम्मान



२९ असार । चितवन साहित्य परिषद् (चिसाप) ले २०८ औँ भानुजयन्तीका अवसरमा साहित्यकार तथा कलाकारलाई सम्मान गरेको छ । परिषद्द्वारा आज भरतपुरमा आयोजित कार्यक्रममा चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार¬–२०७७ बाट प्रभा बराल र चिसाप प्रतिभा पुरस्कार– २०७८ बाट कलाकार प्रकाश थापा प्रथालाई सम्मान गरिएको छ । रु ५० हजार ४५ पुरस्कार राशिसहित बरालको उपन्यासिक कृति फिलिङ्गोलाई सम्मान गरिएको हो ।

यसैगरी पचासको दशकदेखि साहित्य कलामा समर्पित भई मूलत् कला क्षेत्रमा विशेष योगदान दिनुभएका कलाकार थापालाई रु १५ हजार ४५ नगद पुरस्कारसहित सो पुरस्कारबाट सम्मान गरिएको छ । परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षता एवं साहित्यकार केदारनाथ खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकार जगन्नाथ पण्डित, सरला जोशी, पदम अर्यालले साहित्यको विविध विद्यामाथि प्रकाश पारेका थिए ।