बाढीका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालन



२३ असार । पर्वतको कुश्मा नगरपालिका– ८ को सुन्दरेखोलामा आएको बाढीले क्षत्विक्षत बनाएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालन भएको छ । केहीबेरअघिदेखि एकतर्फीरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दिउँसोदेखि मौसम सुधार आएसँगै खोलाको बहाव कम भएपछि मर्मत गरी राजमार्ग एकतर्फी खुलाइएको हो । मध्यपहाडीसँगै क्षत्विक्षत भएको दोबिल्ला–फलेबास सडकखण्ड भने सञ्चालनमा आएको छैन ।

उक्त सडकको करिब १ सय मिटर भागसम्म ठुल्ठूला ढुङ्गा रहेको र ती ढुङ्गा ब्रेकर लगाएर फुटाउनुपर्ने भएकाले अझै समय लाग्ने प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काका अनुसार भत्किएको राजमार्गको कुनापट्टिबाट अस्थायी सामान्य बाटो खनेर राजमार्ग खुलाइएको हो । “हिजो रातिदेखिका सवारी बन्द भएकाले एकतर्फी खुलाएर वारपार गर्न दिइएको हो”, खड्काले भने, “दुइतर्फी खुलाउन अझै समय लाग्छ ।


” खोलाले ल्याएका ठुल्ठूला ढुङ्गा हटाएर दोहोरो सवारी सञ्चालन हुने गरी सडक मर्मत गर्न समय लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । “गाडी एकतर्फी भए पनि चलाइयो”, आयोजनाका सूचना अधिकारी उज्वल शर्माले भने, “बर्खामा व्यवस्थित हुने सम्भावना छैन । एक हप्ताभित्र दुईतर्फी सञ्चालन गर्न सकिएला ।” सडक निर्माण कम्पनीको मुख्य इञ्जिनीयरसहित गाडी बगाएकाले अहिले नै सडकको सहजरुपमा सञ्चालनबारे भन्न नसकिने उनले बताएका छन् ।