बाटो बिराएका सबैलाई ‘आममाफी’ दिने ओलीकाे घाेषणा



७ साउन । फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले बाटो बिराएकाहरु (माधव नेपाल पक्ष) लाई पार्टीमा फर्किए आममाफी दिन सकिने बताएका हुन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भनेका छन्, ‘ बाटो बिराएका भडि्कएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’ उनले अगाडी भने ‘जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’


झण्डै एक घण्टा लामो सम्बोधन गरेका ओलीले कसैले औँला ताक्दैमा एमाले नसिद्धिने पनि बताए । ‘यो काँक्राको कलिलो चिचिलो होइन, जसलाई औँला ताक्ने बित्तिकै कुहिन्छ,’ ओलीले भने, ‘पुष्पलालजस्ता आदर्श व्यक्ति, मदन भण्डारीजस्ता आदर्श व्यक्तित्वबाट प्रशिक्षित विचार र आन्दोलन हो । यो स्वार्थहरुको गठबन्धन होइन । समृद्ध नेपाल र सुखी नेपालीको गहन अभिभारा बोकेको र अगाडिका चुनौती सामना गर्ने हिम्मत भएको आन्दोलन हो ।’

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न दुनियाँ लाग्दा पनि खुट्टा समेत हल्लाउन नसकेपछि अदालतको परमादेशबाट हराइएको बताए ।