३ साउन । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत् सांसद झाँक्रीले मिल्ने भए संस्थागत निर्णय गर्नु पर्ने बताएकी छिन्।
‘हामीले ७६(५) को प्रधानमन्त्रीको लागि संघिय संसदका माननीय सदस्य माननीय शेरबहादुर देउवालाई समर्थन गरेका थियौं। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौं,’ झाँक्रीले लेखेकी छन्,‘अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ, नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौं।’
उनले त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई संसदको पूरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हाल्न आग्रह गरेकी छन्।
‘त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं,’ झाँक्रीले लेखेकी छन्।