गोरखामा पहिराले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिराले ८० वर्षीय रमन पाण्डेको घर पुरिँदा पाण्डेसहित उनकी श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिराले पाण्डेको भूकम्पपछि पुनर्निर्माण गरिएको टिनले छाएको एकतले कच्ची घर पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिएका छन् ।
घटनालगत्तै स्थानीयवासीले उद्धारको प्रयास गरेको भए पनि करीब ४ घण्टापछि दुवैको शव पहिराबाट निकालिएको उनले बताए । इलाका प्रहरी कार्यालय जौबारीबाट गएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा शव निकालेको हो । सो घरमा पाण्डे दम्पती मात्रै बस्दै आएका थिए ।