पञ्चायत विस्थापित गरेर प्रजातन्त्र पुनःस्थापना भएको ३ दशक बितिसक्दा पनि नेपालका राजनीतिक दलभित्र लोकतान्त्रिक संस्कार र बौद्धिकताको खडेरी कायमै छ ।
दलभित्रको आन्तरिक लोकतन्त्र र मूल्य मान्यता हेर्ने हो भने स्थिति दयनीय छ । एकै व्यक्ति बाचुञ्जेल नेतृत्वमा बसिरहन चाहने र नेतृत्व हस्तान्तरणको सवाललाई सधैं गिज्याउने परम्परा नै स्थापित भइसकेको छ ।
नेपाली काङ्ग्रेसको अघिल्लो महाधिवेशनको प्रसङ्गबाट शुरु गरौ । १३औ महाधिवेशनमा पार्टी नेतृत्वको लागी पाँच जना मुख्य प्रतिस्पर्धी देखिए । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रमाशमान सिंह, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौंला ।
निर्वाचनको अन्तिम क्षणमा निधिले देउवालाई सघाए, सिंहले पौडेललाई सघाए । सिटौंला आफै टिम बनाएर सभापतिको प्रतिस्पर्धामा उत्रिए । नेताहरुकै भनाईलाइ आधार मान्ने हो भने देउवा र पौडेल दुवैले सहयोगी नेताहरुसंग एकपटकका लागि सहयोग मागेका थिए ।
निधि र सिंहले अघिल्लो महाधिवेशनमा देउवा र पौडेललाई सघाएवापत यसपटक आफूलाई सहयोग हुने अपेक्षा गर्नु अन्यथा होइन । यद्यपि न देउवाले निधिलाई स्वीकार गरे नत पौडेलले सिंहलाई । यहीकारण कांग्रेसभित्र नयाँ समीकरणको प्रयास भइरहेको छ ।
निधि र सिंहसहितको समीकरणमा महामन्त्री डा.शशांक कोइराला समेत सहभागि छन् । यी तीन नेताबीचको निरन्तरको संवादले कांग्रेसभित्र तरंग पैदा गरेको छ । अधिकांश कार्यकर्तालाई यस समीकरणले पार्टीलाई मजबुद बनाउँछ भन्ने विश्वास पनि लागेको छ ।
कांग्रेसभित्रको परम्परागत गुट अभ्यास हेर्दा तीन नेताको अग्रसरतामा बन्ने गुट बलियो र विश्वासिलो हुने पनि देखिन्छ । पार्टीभित्र ईतिहास, वर्तमान र भविष्य सबै भएका नेतात्रयको सहकार्य महाधिवेशनसम्मै जाओस् भन्ने सुझाव कांग्रेसका कार्यकर्तादेखि बुद्धिजीवीसम्मको छ ।
निधि, कोइराला र सिंहबीचको समीकरणले औपचारिक आकार लिइसकेको छैन तर कांग्रेसमा यसलाई चासोका साथ हेरिएको छ । परम्परागत गुटमा रमाएका र राजनीतिक दूनो सोझ्याएकाहरुलाई नेतात्रयको समीकरण टाउको दुखाईको विषय बन्दैछ ।
लोकतान्त्रिक पार्टीमा विचार वा नेतृत्वको आधारमा समीकरण बन्न नौलो होइन । तर आफूलाई लोकतन्त्रवादी भन्नेहरु नै कांग्रेसमा बन्दै गरेको नयाँ समीकरणप्रति पूर्वाग्रही देखिदैछन् । लोकतन्त्रका लागि लामो समय योगदान गरेको दावी गर्नेहरुले यस्तो अल्प संस्कृति देखाउनु बौद्धिक गरिबीबाहेक केही होइन ।
वीपी र गणेशमान भनेकै कांग्रेसलाई सम्पूर्ण रुपमा तरंगित गर्न काफी नाम हो । आज हरेक पुस्ताको कांग्रेस कार्यकर्ता वीपी र गणेशमानको योगदानप्रति नतमस्तक छ । त्यसमा महेन्द्र नारायण निधिको योगदानलाई पनि कम आँक्न मिल्दैन ।
प्रजातन्त्र प्राप्तिको लडाईमा कोइराला, सिंह र निधिको परिवारको योगदानलाई कसैले विरासतको आरोपले मात्रै नामेट पार्न सक्दैन ।
कांग्रेसको आन्तरिक राजनीतिक बुझ्नेलाई त थाहा छ कि अझैंपनि पार्टीभित्र ‘लिगेसी’को महत्व छ । त्यो लिगेसी परिवारमात्रै होइन विचारको पनि हो ।
वीपी, गणेशमान र निधिको पारिवारिकसंगै वैचारिक लिगेसी पनि आज कांग्रेसजनले खोजिरहेका छन् । आम कांग्रेसजन र लोकतन्त्रवादीको दृष्टिकोणमा कांग्रेसको पहिलो पुस्ता अर्थात देउवा, पौडेल र सिटौंलाहरुले विश्राम लिनैपर्छ ।
सभापतिका रुपमा देउवा असफल हुँदै गर्दा पार्टीभित्रको प्रतिपक्षका रुपमा पौडेल र सिटौंला पनि असफल नै भएको ठहर्छ । यसर्थ पहिलो पुस्ताका तीनै जनाको सम्मानजनक बहिर्गमन कांग्रेसका लागि अपरिहार्य छ ।
शक्ति र सत्ता सधैंभरी एकै ठाउँमा रहदैन । लामो समयसम्म सत्ता र शक्तिमा रहन खोज्दा विश्व राजनीतिका प्रभावशाली भनिएका पात्रहरु पनि असफल सावित भएका छन् । त्याग र निष्ठाको मूल्य कांग्रेसमा अझै जीवित राख्न जरुरी छ ।
त्यसका लागि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको भूमिका सबैले स्मरण गर्नैैपर्छ । कांग्रेसको विचार र सिद्धान्त कालजयी छ । तर नीति र कार्यक्रम समय सापेक्ष बनाउन जरुरी छ । अहिले समावेशिताको एजेण्डा सर्वत्र उठ्ने गरेको छ । यस्तो अवस्थामा कांग्रेसलाई पनि समावेशी नेतृत्वको आवश्यकता छ ।
कुनैबेला वीपी कोइरालाले परशुनारायण चौधरीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुभएको थियो भने धनमानसिंह परियारलाई पार्टीको महामन्त्री बनाउनुभएको थियो । कांग्रेसले नै रामवरण यादवलाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बनाएर आफू समावेशीताको पक्षमा रहेको व्यवहारिक प्रमाण दिएको थियो ।
निधि, कोइराला र सिंहको नेतृत्वमा बन्ने समीकरण समावेशीताको दृष्टिले पनि उपयुक्त देखिन्छ । यो समीकरणको सफलताले कांग्रेसमा आदिवासी, जनजाति, मधेसी र महिलासहित सबै वर्गको आकर्षण बढाउन मद्दत गर्नेछ । यस्तो बेला यस समीकरणलाई अराजनीतिक ढंगले आरोपित गर्न बौद्धिक गरिबी शिवाय केही ठहर्ने छैन ।