देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिन ओलीको निर्देशन



१८ असार । नेकपा एमालेको आजको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका विघटित प्रतिनिधिसभामा रहेका पार्टीका सांसद्लाई प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुुुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिन निर्देशन गरेका छन् । सो दलको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएपछिको पहिलो बैठकमा अध्यक्ष ओलीले आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध र विपक्षी दलका नेताका पक्षमा हस्ताक्षर गरिनु दुःखद् भएकाले पार्टीको एकता र देशको आवश्यकताबमोजिम त्यस्तो हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन पार्टीका सांसदहरूलाई निर्देशन दिएका हुन्।

पार्टीभित्र असन्तुष्ट पक्षसँग दोस्रो तहका नेताको अनौपचारिक वार्ता जारी रहे पनि अन्य सहमति खोज्ने पहल भइरहेको जनाइएको छ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही शर्तसहित गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ गते नेकपा माओवादी केन्द्रसँगको एकतापूर्वको संरचनामा पार्टीलाई सञ्चालन गर्न आफू तत्पर भएको घोषणा गरेका थिए । अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जोडिएका नेता नेपाल पक्षका केही तत्कालीन सांसदले हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राखेका छन् ।