टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिलो चरणबाटै बिदा



१५ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिनुभएको छ । केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सकिनन् । उनले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गरेकि थिइन् । नौ खेलाडी सम्मिलित सो समूहमा चौधरी आठौँ भएकि हुन् ।

उनले आफ्नै प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । यसअघि चौधरीले १०० मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सकेण्ड खर्चिएको रेकर्ड छ । चौधरीको खेल प्रदर्शनसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको प्रतिस्पर्धा सकिएको छ । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए ।


सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले यसअघि खेलिसकेका छन् । चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन् । परियारले महिला १० मिटर एयरराइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रिस्टाइल तथा सिंहले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए । पौडीमा शाह र सिंह तथा सुटिङमा परियारले आ–आफ्नो खेलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए ।