गुरुप्रति आस्था प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा



९ साउन । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । गुरु पूर्णिमाका अवसरमा विगत वर्षमा औपचारिक कार्यक्रम आयोजना गर्ने गरिएकामा यसपटक नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेका कारण फरक तरिकाले मनाइएको छ ।

घरबाटै जीवित गुरुलाई फोन, सामाजिक सञ्जालबाट सम्झने, कृतज्ञता ज्ञापन गर्नेलगायत तरिका अपनाइएको छ । सामान्यरूपमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर औपचारिक कार्यक्रम पनि भएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।


अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर: । गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरस सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम नभएकाले मानसिकरूपमा श्रद्धाभाव प्रकट गरिएको छ ।

यसैबीच जुम प्रविधिका माध्यमबाट विभिन्न विद्यालयले पनि गुरु पूर्णिमा पर्व शिक्षा दिने गुरु गुरुआमाप्रति श्रद्धा प्रकट गरी मनाएका छन् । आधुनिक शिक्षा प्रणालीमा गुरुप्रति सम्मान एवं श्रद्धा प्रकट गर्ने क्रम घट्दै गएको विश्लेषण हुने गरेको छ ।