केराखेतीमा खपटे घुन र गवाँरो रोग लागेपछि म्याग्दीका किसान चिन्तित



८ साउन । हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । गत चैतमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु¥याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुनः रोग फैलिएपछि यहाँ केरा खेती गरेका कृषक चिन्तित बनेका हुन् ।

पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाको वडा नं २ खबरा, बगरफाँट, वडा नं ४ सिङ्गा, थामडाँडालगायत जिल्लाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा किरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका वेनी नगरपालिका–२ बगरफाँटका कृषक दुर्गाबहादुर थापाले बताएका छन् ।


केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका–२ बगरफाँट गाउँमा खपटे घुन र गवाँरो रोगले सयौँ रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्कीले केराका बोट नपसाउँदै सुक्न थालेपछि आफू चिन्तित भएको बताए । उनले सात रोपनी क्षेत्रफलको जग्गामा केराखेती गरेका छन् ।

खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको कृषक कार्कीको भनाइ छ । यहाँका किसानले धान फल्ने खेतमा केराखेती शुरु गरेका हुन् । शुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवाँरोले व्यावसायिक केराखेतीमा ठूलो क्षति पु¥याएको उनको भनाइ छ । बगरफाँट र खबरामा मात्रै ४०० रोपनी क्षेत्रफलमा केराखेती गरिएको छ । केरा बेचेर खबरामा वार्षिक रु ५० लाखभन्दा बढी भित्रिने गरेको छ ।