ओलीले छाडे बालुवाटार निवास, बालकोटमा बाजागाजासहित स्वागत



३० असार । २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका छन् ।

एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए । उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो। ‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको थियाे ।


ओलीको बिदाइमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरुले बालुवाटारबाट स्कर्टिङ गरेका छन् ।

दिउँसो एक बजेतिर लावालस्करसहित बालकोट पुगेका ओलीलाई बाजागाजासहित स्वागत गरिएको छ। बालकोटमा ओली निवासतर्फ जाने बाटोमा सडकमा सूर्यअंकित चिन्ह बनाइएको थियो। उनी बालकोट चोक पुग्दा ब्यान्ड बाजा बजाइएको थियो।

नेता/कार्यकर्ताले ‘केपी ओली- जिन्दावाद, आइ लभ यू केपी बा’ लगायत नारा लगाएका थिए।