एमाले नेता भीम रावलले फिर्ता लिए राजीनामा



८ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्। शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । 

२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले राजनीतिक दलका शर्ष नेतामा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका थिए । 


रावलले साउन ३ गते सांसदबाट राजीनामा दिएका थिए। उनको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसकेका थिएनन् । राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले रावललाई आग्रह गर्दै आएका थिए । एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमै रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए भने माधव नेपालले पनि उनकै निवास पुगेर त्यसबारे आग्रह गरेका थिए ।