विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएको छ । नेपालमा कोरोनाको पहिलो चरणमा देशभर तीन हजारभन्दा बढी व्यक्तिको निधन भएको थियो भने दोस्रो चरणमा संक्रमणका कारण ६ हजारभन्दा बढीले ज्यान गुमाए । पहिलो भेरियन्टभन्दा दोस्रो भेरियन्टको प्रभाव नेपालको युवा पुस्तामा धेरै देखियो । पहिलो चरणको कोरोनापछि सरकारले यथेष्ट तयारी नगर्दा दोस्रो चरणमा कोरोना संक्रमणका कारण धेरैले ज्यान गुमाउनुपरो । कोरोनाको सुरुवातीदेखि नै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा सघन उपचार कक्ष (आइसीयु) हेण्डिल गरेर बस्नुभएका डा आनन्द ठाकुरसँग गरिएको कुराकानीको सम्पादित अंश ।
सघन उपचार पद्धती भनेको के हो ?
कुनैपनि विरामीलाई बढी हेरचाह दिएर प्रतक्ष्य डाक्टरको निगरानीमा राखेर गरीने उपचार पद्धती सघन उपचार पद्धती हो । कुनैपनि गम्भीर प्रकृतिका विरामीलाई श्वासप्रश्वासदेखि अन्य समस्या बढी देखियो भने आईसीयुमा लगेर उपचार गरिन्छ । अक्सिजन कम भएका विरामीलाई पनि आईसियुमा राखेर उपचार गरिन्छ । सामान्य विरामीलाई विस्तारै रोगले च्याप्दै लगेमा आईसीयुमा लगेर उपचार गरिँदै आएको छ ।
कोभिडका कस्ता खालका विरामीलाई आईसीयु भर्ना गर्नुपर्छ ?
कोभिडको निमोनिया कति सिरियस छ भन्ने हेरेर उक्त विरामीलाई अक्सिजनको रिक्वायरमेन्ट १० लिटरभन्दा बढी भएका आईसीयु भर्ना गर्दै आएका छौँ । श्वास फेर्न अन्त्यन्त गाह्रो हुने तथा अक्सिजन कम हुने विरामीलाई पनि आईसीयु भर्ना गर्नुपर्छ ।
कोभिड भएका सबै व्यक्ति आईसीयुमा भर्ना गर्नुपर्छ की पर्दैन ?
एकदमै राम्रो प्रश्न गर्नुभयो, सबै कोभिडका विरामीले सर्वप्रथम त आफुभित्र भएको डर हटाउनुपर्छ । दीर्घरोगी सुगर, प्रेसर र दमका विरामीलाई कोभिडको संक्रमण बढी हुन्छ । श्वासको गती ३० भन्दा बढी छ, अक्सिजनको रिक्वाएरमेन्ट १० लीटरभन्दा बढी छ, श्वास फेर्न गाह्रो छ भने यस्ता विरामीलाई आइसीयु भर्ना गर्नुपर्छ । कोरोना लागेका सबै विरामी आईसीयुमा भर्ना हुनुपर्छ भन्ने छैन ।
कस्तो खाले विरामी तुरुन्त आईसीयुमा जानुपर्ने अवस्था रहन सक्छ ?
कोभिडका विरामीमध्ये ८० देखि ९० प्रतिशत विरामी सामान्य रुघाखोकीबाट नै निको हुन्छन् । जुन एक हप्ताको समयमा नै निको हुने हुन्छ । दोस्रो चरण भनेको एक हप्तासम्म पनि विरामी निको नहुने र ज्वरो आइरह्यो भने अस्पताल जानुपर्छ । सुरुको चरणमा ज्वरो तथा रुघाखोकी लाग्ने विचमा ज्वरो तथा रुघाखोकी निको हुने र फेरी ज्वरो तथा रुघाखोकी लागेमा अस्पताल जानुपर्छ । कुनैपनि भाइरस इन्फेक्सनले छातीमा समस्या हुन्छ । ७ देखि ८ दिनसम्म निरन्तर ज्वरो आएमा अस्पताल जानैप¥यो । ६० देखि बढी प्रतिशत इन्फेक्सन छातीमा देखियोभने आइसीयु भर्ना हुनुपर्छ ।
आईसीयुमा गएको व्यक्ति घर फर्किँदैन भनिन्छ नी के यो सही हो ?
आईसीयुमा वा भेन्टिलेटरमा गएको मान्छे बाँच्दैन भन्ने बुझाई गलत हो । कडा विरामी परेर आईसीयुमा भर्ना भएका कतिपय विरामी निको भएर घर फर्केको उदाहरण पनि हामीसँग छन् । अस्पताल वा डाक्टरसँग औषधी नभएर विरामीको मृत्यु भयो भन्ने कुरा एकदमै गलत हो । एउटै घरमा कोभिड लागेका तीन जना व्यक्ति छन् भने एकजना घरमै निको हुने, अर्को व्यक्ति अस्पतालको साधारण वार्डमा उपचार गरेर निको हुने र अर्को व्यक्ति आईसीयुमा जाने अवस्थापनि हुनसक्छ । विरामीको रोग र शरिरमा भर पर्ने कुरा हो । भेन्टिलेटरमा राखेको विरामीपनि निको हुन सक्छन् ।
आईसीयु र भेन्टिलेटरमा राखेका कति प्रतिशत विरामी बाँच्ने सम्भावना रहन्छ ?
विश्वको डाटालाई केलाउने हो भने पहिलो चरणको कोरोना संक्रमणको समयमा सुरुवाती चरणमा भेन्टिलेटरमा गएका ८० प्रतिशत व्यक्तिको मृत्यु भएको थियो । विस्तारै कोरोनाको उपचार पद्धती बलियो बनाउँदै जाँदा सन् २०२० को अन्त्यमा आइपुग्दा भेन्टिलेटरमा पुगेका ३५ प्रतिशत व्यक्तिको मृत्यु भएको पाइन्छ । नेपालको सन्दर्भमा भन्ने हो भने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पहिलो चरणको कोरोना संक्रमणको ६ महिनाको अवधीमा १२५ जना भेन्टिलेटरमा पुगेकोमा ४३.६ प्रतिशत विरामीको मृत्यु भएको थियो । ५७ प्रतिशत विरामी निको भएर घर फर्केका थिए ।
दोस्रो चरणको कोरोना संक्रमणमा भने मृत्युदर बढेको छ । दोस्रो चरणको कोरोना संक्रमणले युवालाई धेरै संक्रमित बनाएको छ । यस वर्षको मृत्युदर ८० प्रतिशत रहेको छ ।
पहिलो चरणको कोरोनाभन्दा दोस्रो चरणको कोरोना किन बढी घातक ?
पहिलो चरणको कोरोना संक्रमण देखिएसँगै अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा दोस्रो चरणको कोरोना संक्रमण धेरै कडा भएको बताएका थिए । सो अनुन्धान अहिले मिल्न गएको देखिन्छ । यो संक्रमणले युवालाई बढी आक्रमण गरेको देखिन्छ । अहिलेको भेरियन्ट कडा भएकाले मृत्युदर बढी भएको हो ।
कोरोना नेगेटिभ भएका विरामीहरु निधन हुँदै गएको छ किन होला ?
एकदमै राम्रो प्रश्न गर्नुभयो, कोभिडका विरामीमा नेगेटिभ रिपोर्ट भएपनि फोक्सोको सुधार हुन दुईदेखि तीन महिना लाग्छ । कोरोनाले टाउकोदेखि खुटासम्म असर पारेको हुन्छ । कोभिड भनेको भुँईचालो आएजस्तो हो । भुँईचालो १० सेकेन्डका लागि आएपनि त्यसको असर महिनौसम्म रहन्छ त्यस्तै कोभिड पनि हो । विरामीमा नेगेटिभ रिपोर्ट आएपनि शरीरलाई असर पारिरहेको हुन्छ ।
अरु विरामीभन्दा कोभिडका विरामी किन लामो समयसम्म आइसोलेसनमा बस्छन् ?
हामीसँग धेरै किसिमका निमोनिया हुन्छन् । ब्याक्टेरिया निमोनियालाई औषधी दिएर निको हुन्छ । भाइरस निमोनियाको औषधी छैन । भाइरस निमोनियाको औषधी नहुँदा विरामी निको हुन लामो समय लाग्छ । कुनैपनि औषधीले भाइरसलाई मार्न सक्दैन । नर्मल रुपमा भाइरसको साइकल १० देखि १४ दिनसम्म हुन्छ ।
आइसीयु र भेन्टिलेटरको उपचार विधि किन जोखिम र महङ्गो हुन्छ ?
वार्डमा १० वटा विरामीलाई एउटा नर्सले केयर गर्न सक्छ भने आइसीयु र भेन्टिलेटरमा वेडअनुसार डक्टर र नर्स चाहिन्छ । डाक्टर २४ घण्टा नै बस्नुपर्छ । आईसीयुमा रहेका विरामीलाई महंगो खालको औषधी प्रयोग गर्नुपर्छ । भेन्टिलेटर र आइसीयु वेडको संरचना समेत महंगो हुने भएकाले बढी जोखिम र खर्च लाग्ने हुन्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
हामी आइसीयुमा काम गर्दै गर्दा उपचारका लागि आउने विरामीले हामी डाक्टरको पनि मानसिक स्वास्थ्यलाई बुझ्नुपर्छ । डाक्टर नर्सले कसरी काम गरिरहेका छन् भन्ने बुझ्नुपर्छ । हामी विरामीको ज्यानलाई प्राथमिकतामा राखेका काम गरिरहेका छौँ । हामीपनि धेरै विरामीलाई बचाएर घर पठाउन सकौँ भन्ने लाग्छ । भेन्टिलेटरमा रहेको विरामीलाई घर पठाउन पाइयो भने आफूहरुले गौरवान्वित काम गरेको महसुस हुन्छ । विरामीको रोगको बारेमा डाक्टरले पहिले नै विरामीको आफन्तलाई बुझाइदिनुपर्ने हुन्छ ।