Minister for Foreign Affairs Prakash Saran Mahat briefing journalists about Nepal's participation in the BRICS conference in Goa of India, in Singha Durbar, Kathmandu, on Friday, October 14, 2016. Photo: RSS


नेपाली कांग्रेसलाई यतिखेर महाधिवेशन लागेको छ र पदीय आकांक्षीको संख्या बढ्दो छ । यहीबीचमा सहमहामन्त्री डा. प्रकाशशरण महत आफू सभापतिकै प्रतिस्पर्धीमा योग्य भए पनि उपसभापति या महामन्त्रीमा उम्मेदवारी दिने चाहना व्यक्त गर्छन् । पार्टीका संस्थापक नेतापुत्रहरूको सक्रियताप्रति घुमाउँरो तरिकाले आलोचना गर्दै उनले भने, ‘पुर्खौली विरासतको ब्याज खान पार्नुपर्छ भन्दा पनि योगदानको आधारमा स्थापित हुनुपर्छ ।’ कांग्रेसकै महाधिवेशनकेन्द्रित रहेर न्युज एजेन्सी नेपालले डा. महतसँग गरेको कुराकानी ।

कांग्रेस महाधिवेशन नजिकिँदैछ व्यस्तता कत्तिको बढेको छ ? कस्तो छ महाधिवेशनको तयारी ?

महाधिवेशनलाई कोभिड–१९ ले धेरै प्रभावित गर्‍यो । नचाहँदा–नचाहँदै धेरैपटक कार्यतालिकामा संशोधन गर्नुपर्यो । तर, नेतृत्वले सबै कठिनाईका बाबजुद महाधिवेशन गर्ने निर्णय गरेको छ । क्रियाशील सदस्यता नामावलीको टुङ्गो लगाउने काम अन्तिम हुँदैछ । मौसमजन्य चुनौती र कोभिडको संक्रमणको चुनौती अझै छ । मौसम र कोभिडले असमान्य अवस्था ल्याएन भने तोकिएको समयमा महाधिवेशन हुन्छ ।

नेतृत्वका आकांक्षी धेरै देखिए, निरन्तर नेतृत्वमा भएकाहरू र नयाँ आकांक्षी पनि देखिएका छन्, यो कसरी व्यवस्थापन हुन्छ ?

पार्टीको विधानमा कोषाध्यक्षबाहेक अधिकांश पदमा निर्वाचन हुने व्यवस्था छ । पालिकाको वडादेखि केन्द्रसम्म निर्वाचन हुन्छ । यसले धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खोलेको छ । यसले आकांक्षी र उम्मेदवारलाई बढाएको छ । यसबाट पहिलो पिँढीका रामचन्द्र पौडेल, शेरबहादुर देउवासँगै हामी पनि उम्मेदवार हुन सक्ने अवस्थामा पुगेका छौँ । यस्तो अवस्थामा निर्वाचनले आफैँ व्यवस्थापन गर्छ ।

अर्को को व्यक्ति कोसँग प्रतिष्पर्धा गर्छ, निर्वाचनमा आन्तरिक रूपमा कसलाई कहाँ मिलाउने भन्ने हुनसक्छ । तर को निर्वाचित हुने विषय त निर्वाचनले नै व्यवस्था गर्छ । यसमा चुनौति र अवसर दुवै छ । जहाँसम्म सभापति उम्मेदवारको कुरा हो, हामीलाई पनि लाग्छ पार्टीमा महत्वपूर्ण जिम्मेवारी लिन तयार छौँ । यसको बाबजुद राजनीतिक नेतृत्व भन्ने विषय बोलेर मात्रै पुग्दैन । पार्टीमा सम्मान दिने संस्कार पनि छ । सुझबुझ अनुभवका कुरा पनि छन् । पार्टी सम्हाल्ने विषय बाहिर देखिए जस्तो हुँदैन । यसकारण मलाई लाग्छ, अनुभव र पछिल्लो अवस्थामा दिनुभएको परिपक्क नेतृत्व शेरबहादुर देउवाले दिनुभएको छ । आलोचना टिप्पणीहरू होलान्, तर अप्ठेरो अवस्थामा उहाँले नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने ठूलो संख्या छ ।

यसको अर्थ पौडेल, देउवा, शशांक कोइराला, विमलेन्द्र निधिलाई एकै ठाउँमा लडाउने हो त ?

यस्तो छ, उपसभापतिमा दुई पद छ, पहिला एक जना थियो । महामन्त्री दुई जना निर्वाचित हुन सकिन्छ । यदि हामीसँगै काम गरौँ र फलानो पद मलाई चाहिन्छ नभनी त्याग गर्ने हो भने ठाउँ छ । होइन म पछि हट्दिन, म हुनैपर्छ भन्ने कुरा आयो भने अवश्य पनि समस्या आउँछ ।

देउवा र पौडेल नेतृत्वमा नै दोहोरिने हो भने तपाईँहरूको राजनीतिक समय, उमेर र भविष्य ५ वर्ष पछाडि धकेलिनेछ, यसबारे पनि कठोर भएर निर्णय गर्नुपर्ने बेला आएको होइन र ?

म आफूलाई पनि नेतृत्वका लागि योग्य ठान्छु । सभापति भएर पार्टीलाई हाँक्न सक्छु भन्ने लाग्छ । अगाडि देउवाको चर्चा गरेँ, रामचन्द्र दाई पनि वरिष्ठ र बराबर अनुभव भएको नेता हुनुहुन्छ । हाम्रा अग्रज दाईहरू हुँदा हुँदै अघि बढ्न सकिने अवस्था छैन । यसले हामीलाई नै घाटा हुन्छ भन्ने जान्दा जान्दै पार्टीको परम्परा र संरचना र अनुभवले दाइहरूको सान्र्दभिकता अझ पनि छ । हो, यो हामीले बुझेका छौ । मेरो कुरा गर्नुहुन्छ भने म सहमहामन्त्री भईसके, सबै किसिमको अनुभव भए पनि सभापतिमै दाबी गरिरहेको छैन । यस्तै अरु साथीहरूले दाबी गरिरहनुभएको छ, जस्तै विमलेन्द्रजी पनि हुनुहुन्छ । निर्वाचनको समय आइसकेपछि कतिपयले बन्छु भनेका उम्मेदवार नबन्नेमा पुग्नुहोला । कतिपय उम्मेदवारी नदिएका साथीहरूलाई अगाडि सार्नुहोला । त्यसकारण यस्तो भइसक्यो भन्ने अवस्था छैन ।

पछिल्लो समय एकदमै चर्चामा रहेको प्रसंग ३ शीर्ष नेताका सुपुत्र पार्टीभित्र अलग–अलग योगदान छ, तीनै जनाको घरमा ‘लञ्च मिटिङ’ भयो यसले नयाँ गुट जन्मायो कि भन्ने छ, कसरी हेर्नुभएको छ ?

उहाँहरूको भेटघाट मात्रैको कुरा त केही होइन । तर यसलाई कार्यकर्ताले सहज रूपमा लिएको छैन । यो पार्टी समग्र जनताको हो । उहाँका पिताजी नेताहरूको योगदान ठूलो छ र हाम्रो सम्मान छ । तर यो पार्टी त मेरो बुबा, मेरो आमा नेता थिएनन् भने पनि मेरो काम र योगदानको आधारमा हामी स्थापित हुन सक्छौँ । उहाँहरूका जसको बुबाहरू नेता हुनुुहुन्थ्यो, त्यसमा मात्रै सीमित भएर पटक–पटक बैठक बस्नुभयो । यसले उहाँहरूकै लागि सकारात्मक सन्देश दिएको जस्तो मलाई लाग्दैन । पार्टीमा लाखौँ नेता कार्यकर्ताहरू छन्, सबैको धेर–थोर योगदान छ । कतिपय अवस्थामा उहाँहरूले गरेको भन्दा बढी योगदान दिने साथीहरू छन् । त्यसकारण हामी मिल्यौँ भने मात्रै नेतृत्व आउँछ भन्ने कुरा कार्यकर्ताले सहज रूपमा स्वीकार गर्दैनन् । नेता पुत्र या बुबा नेता नभए पनि पार्टीमा योगदान गरेका सबै जोडिँदा सहज हुन्छ ।

यो प्रसङ्गको अर्को पाटो पनि छ, अब देउवाको अर्को विकल्प खोज्नुपर्छ भन्ने मुख्य देखिन्छ नि ?

विकल्प खोज्दा नेता पुत्रमै सीमित हुनुपर्छ भन्ने छैन नि । विकल्प खोज्न पाइन्छ । पिता नेता नभएका अरु पनि योग्य पात्र हुन्छन् । ठूलो प्रतिस्पर्धा छ, तर यसमा नै सीमित हुनुपर्छ भन्ने छैन ।

लामो समय देउवालाई आड, भरोसा, विश्वास, नेतृत्व सहयोग गरेका विमलेन्द्र निधि सभापतिको उम्मेदवार हुन्छु भन्दै देउवा समूहबाट बाहिरिनुभएको छ, संस्थापन पक्षलाई यसले असर गर्दैन र ?

शेरबहादुरजीको उम्मेदवारी रहिरहँदा र विमलेन्द्रजीले म अलग लड्छु भन्दा प्रभाव त पर्छ नै । प्रभाव पर्दैन भन्ने छैन । यो विषयमा धेरै साथीहरूले विमलेन्द्रजीलाई सल्लाह दिँदा अप्ठेरो अवस्थामा शेरबहादुरजीले एकपटक नेतृत्व गर्छु भन्नुभएको छ र समझदारी गरेर जाँदा राम्रो हुन्छ भनी भनेकै छन् । यद्यपि उहाँ (विमलेन्द्र निधि) ले लड्छु भन्नुभएको छ । तर म के भन्छु भने यतिखेरै अन्तिम टुंगो लागिसक्यो भन्ने निष्कर्षमा पुग्नु हुँदैन । उम्मेदवारी दर्ताका बेलासम्म उहाँले विचार परिर्वतन गर्न सक्नुहुन्छ । त्यसपछि एउटा आमसमझदारी पनि बन्न सक्छ भन्ने मलाई लागेको छ । तर उहाँ आफैँ उम्मेदवारी दिन योग्य हुनुहुन्छ र उहाँको अधिकार पनि हो । तर पूरै छिनोफानो भइसक्यो र अलग–अलग बाटो लागिसक्नुभयो भन्ने मूल्यांकन अलि अपरिपक्व हुन्छ ।

सबैले आ-आफ्नो उम्मेदवारी दाबी गरिसकेका छन्, तर तपाईले गर्नुभएको छैन । तपाईको दाबी कुन पदमा हो ?

पार्टी सभापति स्वयंले पनि साथीहरूको बीचमा भनेपनि औपचारिक रूपमा घोषणा गर्नुभएको छैन । त्यसकारण हामीले पनि घोषणा गर्न हतार गर्नुभएन । तथापि म सहमहामन्त्री भइसकेको छु । पहिला नै महामन्त्रीकै लागि दाबी थियो । त्यसका लागि योग्यता र पृष्ठभूमि मसँग छ । सभापति पदमा शेरबहादुर दाई आफैँ लड्छु भनेकाले सभापति पदमा दाबी छैन । म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो । म चुनाव लड्ने हो । महामन्त्री वा उपसभापति पदमा लड्छु । नेतृत्व तहसँग पनि प्रारम्भिक कुरा भएको छ । यसको समझदारी र टिम बनेपछि औपचारिक घोषणा गर्नु उपयुक्त भन्ने ठानैर घोषणा नगरेको हो । मैले दाबी गरेको पदमा पुग्दा गर्ने काम र दृष्टिकोण स्पष्ट छ ।