थाईल्याण्डमा रासायनिक कारखानामा विस्फोट हुँदा कम्तीमा २० घाइते, एकको मृत्यु



२१ असार । थाईल्याण्डको राजधानी बैंकक नजिकैको एउटा रासायनिक कारखानामा सोमबार विस्फोट भई भएको आगलागीमा कम्तिमा २० व्यक्ति घाइते भएका छन् भने एकको मृत्यु भएको छ । समुत प्राकान प्रान्तको बाङ्ग फली जिल्लामा स्थानीय समय अनुसार बिहान तीन बजेतिर विस्फोट हुँदा ‘प्लास्टिक फोम’ उत्पादन गर्ने कारखानामा क्षति भएको थियो । बिस्फोटपछि उक्त प्लान्टमा ठूलो आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त विस्फोट १९८९ मा थाईल्याण्डमा स्थापना गरिएको ताइवानी मिङ दिह नामक केमिकल कम्पनीमा भएको हो ।

घटनामा चिनियाँ राजदूताबासका अनुसार घटनामा कम्तीमा एक चिनियाँ नागरिक घाइते भएका बुझिएको छ । कारखानामा कम्तीमा २० टन रासायनिक सामग्री रहेको बताइएको छ । आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ । घाइतेहरूमा अधिकांश कारखानामा काम गर्ने श्रमिकस्तरका कर्मचारी रहेका छन् भने बिस्फोटपछि लागेको आगलागीका कारण कारखाना वरपर रहेको आवासीय क्षेत्रसमेत प्रभावित भएको छ ।


स्थानीय सरकारले खतरनाक रासायनिक सामग्रीबाट आएको ग्यास र अर्को विस्फोट हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीयलाई कम्तीमा पाँच किलोमिटर क्षेत्रमा बस्ती खाली गर्न र सुरक्षित स्थानमा जान निर्देशन दिएको छ । उनीहरूलाई जिल्लाको एक विद्यालयमा अस्थायी आश्रय प्रदान गरिएको जिल्ला प्रमुख बाङ्ग फली सोमसाक काओसेनाले बताउनुभयो । बिस्फोट र आगलागीको कारण अझै पत्ता लागि नसकेको तर अनुसन्धान सुरू भइसकेको बताइएको छ ।