अस्ट्रेलियाले चीनले मदिरामा भन्सार दर बढाएको विवादमा विश्व व्यापार सङ्गठन गुहार्ने



अस्ट्रेलियाले चीनले गत वर्ष आफ्नो मदिरामाथि २१८ प्रतिशत भन्सार लगाएको विषयमा विश्व व्यापार सङ्गठनमा त्यसविरुद्ध मुद्दा दायर गर्ने भएको छ।

चीनले गैरकानुनी अभ्यास गरेको कारण सो निर्णय गरिएको बताउँछ जसलाई अस्ट्रेलियाले अस्वीकार गर्छ।


अस्ट्रेलियाको मदिराका लागि चीन सबैभन्दा ठूलो बजार हो र त्यहाँका मदिरा निर्माताहरूले भन्सार दरले नराम्ररी प्रभाव पारेको बताएका छन्।

अस्ट्रेलियाको सरकारले मदिरा निर्माताहरूसँगको सघन छलफलपछि विश्व व्यापार सङ्गठनसमक्ष यो विषय राख्ने निर्णय गरिएको बताएको छ।

“विश्व व्यापार सङ्गठनको स्थापित प्रणालीमार्फत् हाम्रो विवादलाई सुल्झाएर अस्ट्रेलियाली मदिरा निर्माताहरूको व्यापारिक स्वार्थ रक्षा गर्ने कार्यलाई सरकारले निरन्तरता दिने छ,” व्यापार, पर्यटन र लगानी मन्त्री डान तेहानले भने।

अस्ट्रेलियाको अङ्गुर र मदिरा उत्पादकको राष्ट्रिय सङ्घका प्रमुख कार्यकारी अधिकृत टोनी बट्टाग्लेनले सहज समाधान नभए पनि विश्व व्यापार सङ्गठनमार्फत विवादलाई अन्त्य गर्ने प्रयास सही बाटो भएको बताए।

“यो कार्यको एउटा पक्ष भनेको चीनसँग संवादमा जाने अवस्था हो जसले सरकारलाई यो विषयका बारेमा संवाद गर्ने र समाधान खोज्ने मौका दिन्छ,” उनले भने।

चीनले अस्ट्रेलियाले अन्तर्राष्ट्रिय व्यापार कानुनले गैरकानुनी मानेको डम्पिङ भनिने अभ्यास गरेको आरोप लगाएको छ।

स्थानीय बजारमा भन्दा सस्तो मूल्यमा अर्को देशमा उत्पादन निर्यात गर्ने कार्यलाई डम्पिङ भनिन्छ।

यसको उद्देश्य स्थानीय उत्पादनहरूको प्रतिस्पर्धा समाप्त गरेर आधिपत्य कायम गर्ने हो।

चीन र अस्ट्रेलिया महत्त्वपूर्ण व्यापार साझेदार हुन् तर कोभिड-१९ को उत्पत्तिका विषयमा अन्तर्राष्ट्रिय छानबिन हुनुपर्ने माग अस्ट्रेलिया गरेपछि यी दुईको सम्बन्ध चिसिएको छ।