स्वतन्त्र नागरिक समाजले असार १४ गतेदेखि वारपारको आन्दोलन गर्ने



काठमाण्डौं । स्वतन्त्र नागरिक समाजले कोरोना महामारी पीडित जनताका लागि सरकारले सीघ्र विशेष राहत कार्यक्रम नल्याएमा कडा सडक संघर्ष गर्ने चेतावनी दिएको छ । असार १३ गतेसम्म सरकारले कोरोना रोकथाम, नियन्त्रणका लागि प्रभावकारी काम नगरेमा र कोरोना महामारी पीडित जनतालाई फास्ट ट्रयाकबाट राहत उपलव्ध नगराएमा असार १४ गते सोमबारदेखि कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

असार २ गतेबाटै सडक संघर्षमा उत्रने तयारीमा रहेको स्वतन्त्र नागरिक समाजले सरकारले थप गरेको निषेधाज्ञा र खेती किसानीको मौसमलाई मध्यनजर गरेर सडक आन्दोलनको समयावधि हेरफेर गरेको समाजका संयोजक हेमबिक्रम सिलवालले जनाउनु भएको छ । असार १४ गतेबाट वारपारको आन्दोलन निरन्तर गर्ने जानकारी पनि संयोजक सिलवालले दिनु भएको छ ।


नेपालमा राजसंस्थासहितको हिन्दू अधिराज्य पुनःस्थापना अभियानमा निरन्तर सक्रिय रहँदै आएको स्वतन्त्र नागरिक समाजले वर्तमान सरकार मात्रै होइन, संविधान, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र समेतको खारेजी गर्न बिभिन्न प्रकारले दबाब आन्दोलनहरु गर्दै आएको छ । यसपट्क सरकार र व्यवस्थाको बिस्थापनका साथसाथै कोरोना पीडित जनताको जीवनरक्षा र पीडित जनतालाई राहत मुख्य एजेण्डा बनाएर समाजले कडा खालको सडक आन्दोलनको तयारी बढाएको हो ।

कोरोना महामारी रोक्न असफल भएको सरकारले हाल जनतालाई समयमा खोप उपलव्ध गराउन नसकेको, खोप ल्याउन अन्तर्राष्टिय समुदायको साथ लिन नसकेको तथा पीडित जनतालाई राज्य छ र संकटमा हेर्छ भन्ने अनुभुति नै गराउन नसकेको समेत ठहर गरेको छ । त्यसैले अब सरकार मात्रै होईन, व्यवस्था नै फेरेर नागरिक समाज नेतृत्वको नयाँ सरकार गठन र सैनिक शासन लागू गर्न पनि स्वतन्त्र नागरिक समाजले माग गर्दै आएको छ ।