स्मार्ट निषेधाज्ञाः चुनौति कायमै छन, सावधान रहौं




उत्तम गौडेल ।

नखाउ भने दिनभरको शिकार खाउँ भने खै के जातीको अनुहार भने जस्तै हो वैशाख १६ गते राजधानी काठमाण्डौं उपत्याकामा जारी र अहिले असार ८ बाट स्मार्ट बनाईएको निषेधाज्ञा । सरकारले नै बन्द गरेको नागरिक जनजीवन अल्प अल्प खुल्नु, अल्टरनेटमा खुल्नु पक्कै पनि सुखद पक्ष हो । दैनिक उपभोग्यदेखि सरसामानादेखि सवारी साधनसम्म जोर विजोर प्रणालीमा खुल्नु नागरिकको जीवन दैनिकीलाई सहज बनाउने सरकारी निर्णय नै हो ।


तर हमेशा आम नागरिक र राज्यका सबै तह र तप्काले हरदम ख्याल गर्नैपर्ने तथ्य के हो भने, नेपालले कोरोना महामारीको दोस्रो भेरियन्टलाई निमिट्यान्न पारेर निषेधाज्ञा खुकुलो भएको होईन । सरकारले सबै कोरोना पीडितलाई स्थायी रुपमा निको पारेर निषेधाज्ञा सहज भएको होईन । सरकारले सबै नागरिकलाई पर्याप्त खोप लगाएर रोगले पुनः च्याप्ने खतराबाट मुक्त पारेर पनि निषेधाज्ञा खुकुलो भएको हुदै होईन ।



सरकारले जेठ १६ मा कोरोनाको दोस्रो भेरियन्टको प्रहार छल्न अपनाएको सहज मार्ग मात्र थियो निषेधाज्ञा अर्थात लकडाउन । सरकारले वैशाख, जेठ र असारका तीन महिना सरकारी आदेश पालना गर्न वाध्य पारयो, तर त्यस वीचमा नागरिकको जीवन बचाउन, दैनिकी चलाउन र राज्यका अंगहरुलाई जीवन्त राख्न आदेश फर्माउने र आदेश कार्यान्वयन गर्ने गराउने बाहेक ठोस काम गर्न, गराउन नसकेको यथार्थ हो ।
कुल जनसंख्याको कति प्रतिशत जनताले यस वीचमा खोप लगाउन पाए ? भारतीय एक कम्पनीलाई अग्रिम भुत्तानी दिईसकेको रकम बराबरको खोप पनि सरकारले किन ल्याउन सकेन ? सेरेमोनियल राष्ट्रपति विद्यादेवी भण्डारीले कथित खोप कुटीनिकिा नाममा खोप ल्याउन थालेको पत्राचार किन करायो करायो दक्षिणा हरायो भने झैं मिडिया प्रचारमा सीमित भयो ? यस वीचमा चीनियाँ राष्ट्रपतिले दान दिएको १० लाख डोज बाहेक खोप सरकारले जोगाड गरेर नागरिकलाई उपलव्ध गराउन किन सकेन ?

करीब २ महिना बढी निषेधाज्ञा अर्थात सरकारी नजरबन्दमा रहेर अब कथित स्मार्ट निषेधाज्ञाका नाममा बाहिर निस्कन पाएका आम नागरिकका मनमा गढेका यी गहिरा प्रश्नहरु जीवित छन, अनुत्तरित नै छन । केपी ओली नेतृत्वको सरकारले सत्ता राजनीतिमा निकै ठूला ठूला हर्कत देखायो । दोस्रो चोटी संसद भंग गरयो । पट्क पट्क मन्त्रीमण्डल फेरबदल र स्वाथ्यमन्त्री परिवर्तन गर्न जुन सक्रियता देखायो, खोपको व्यवस्था गर्न भने त्यो स्तरको सक्रिया कदापी देखाएन । नागरिक या त आफ्नो भाग्यले ज्यान जोगाउन सफल भए, या त परमेश्वरको कृपाले बाँचे । कोरोना महामारीको दोस्रो भेरियन्टको प्रहारको धक्काबाट ठूलो जनधनको क्षतीपछि बाँचेका, बचेका नेपाली जनताको यथार्थ यही र यति नै हो ।


अहिले आम नागरिक अब मख्ख परेर सामान्य जीवन दैनिकीमा फर्कन अवस्था छैन । किन भने अहिले पनि कोरोना महामारी सकिएको होईन, मत्थर मात्र भएको हो । सबैतिर कोरोनाको नयाँ भेरियन्टको खतरा जीवित नै रहेको विश्वस्वास्थ्य संगठनले जनाएकै छ । वर्षाको मौसम, बाढी पहिरोको खतरा र वर्षामा आउने रोगहरुको प्रकोपको खतरा सामुन्नेमा नै छ । स्मार्ट निषेधाज्ञाका सहजतामा नागरिकहरु अब हुलका हुल निस्कने कारणले कोरोनाको जोरिखम पुनः बढ्न सक्ने खतरालाई कसैले नजरअन्दाज गर्न सकिदैन । त्यसैमाथि बर्षा मौसममा देशका बिभिन्न भागमा आएको अकल्पनीय बाढी पहिरोका कारण मौसमजन्य, पानीजन्य रोगको प्रकोपको खतरा पनि उत्तिकै रहेकोमा स्वास्थ्य मन्त्रालयले नै सजग र सचेत गराएकै छ ।


यी सबै पृष्ठभुमिहरुका वीचमा अब आम नागरिकले निषेधाज्ञा खुकुलो वा स्मार्ट भयो भनेर कहिल्यै विजय उत्सव नमनाऔं । कोरोना हारेको वा भागेको होईन, केवल सुस्त मात्र भएको हो । सरकारले नागरिकको ज्यान जोगाउन अग्रसर हुदैन, हामी नागरिक स्वयंले स्वास्थ्य मापदण्ड पालनामा आफूलाई शतप्रतिशत सचेत राख्न सक्नुपर्छ । भाईरसको भेरियन्ट परिवर्तन हुने र त्यसले फेरि पनि वितण्डा मच्चाउने संभावना उत्तिकै छ । त्यसैले जीविन दैनिकी पनि सहज बनाउने तर भीडभाड नगर्ने, मस्क लगाउने, सामाजिक, भौतिक दुरी कायम गर्ने, स्यानिटाइजरको बारम्वार प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने साना तर अति महत्वपूर्ण र संवेदनशील विषयमा अब आम नागरिक नै पहिले सचेत र चनाखो हुनुपर्छ । हामीले महामारीबाट सिक्नुपर्ने पाठ भनेकै जीवनशैलीमा आमुल परिवर्तन हो । हामीले सामाजिक र भौतिक दुरी कायम गर्नेसहित स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिएमा मात्रै कोरोनाको संक्रमण कम हुने हो । यसमा सबै आम नागरिक जनमन मन, वचन र कर्मले ईमान्न्दार बनौं ।

सरकारले कुनै नागरिकका लागि यस्ता बेलामा केही गर्दैन भन्ने दृष्टान्तका हामी सबै भुक्तभोगि भैसकेको आलोकमा अब पहिले आफै सचेत र ईमान्दार बनौं, स्वास्थ्य मापदण्ड पालना गरौं । आफू बचौं, अरुलाई पनि बचाउन मद्धत गरौं । कोरोना महामारी होस वा अन्य स्वास्थ्य चुनौति र संकटहरु बाजा बजाएर आउदैन्न, हामी आफै पूर्व सावधानीका साथ सामान्य जीवन दैनिकीमा फर्कन कोशिस गरौं । सबैको जय होस ।