सिमकोट गाउँपालिकाकाे नीति तथा कार्यक्रम: कृषि र पर्यटनमा जोड



हुम्ला। सिमकोट गाउँपालिकाले आव २०७८।०७९ को नीति तथा कार्यक्रममा जडिबुटी, पर्यटन, जलविद्युत्, स्याउ, ओखर, चिनो, काउनी, आलु, सिमी, फापर, महलगायत फलफूल तथा नगदेबालीको प्रवद्र्धनका लागि पहिलो प्राथमिकता राखेको छ । त्यस्तै घरेलु उद्योग विकासलाई प्राथमिकता दिइने छ ।

पर्यकीयस्थलको पहिचान गरेर १० हजारभन्दा बढी पर्यटक गाउँपालिकामा भित्र्याइने लक्ष्यसमेत राखिएको छ । पर्यटकीयस्थल खार्पुनाथ र शिव मन्दिर, रलिङ गुम्बा, पञ्चमुखी हिमाल, दूधेदहलगायतमा सडक विस्तार तथा सुधार गर्नमा जोड दिइने छ । गाउँपालिकाका उपाध्यक्ष बली रावतले आव २०७८।०७९ को बजेट प्रस्तुत गर्नुभएको थियो ।


चालुतर्फ ५८.०९ र पूँजीगततर्फ ४१.९ प्रतिशत बजेट प्रस्तुत गरिएको थियो । गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक निर्माणमा पहिलो प्राथमिकता दिइने बताउनुभयो । —