शशांक निवासमा विमलेन्द्र, शशांक र प्रकाशमानबीच छलफल



काठमाडौं । नेपाली कांग्रेसका तीन शीर्ष नेताले पार्टीभित्र छुट्टै धार निर्माण गर्ने गरी छलफल अघि बढाएका छन्। दीर्घकालीन समूहका रुपमा स्थापित हुने गरी नेताहरुबीच छलफल भएको हो । महामन्त्री डा शशांक कोइराला निवास महाराजगञ्जमा शुक्रबार दिउँसो कोइरालासहित उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहबीच छलफल भएको थियो ।

शुक्रबारको छलफल गत सोमबार निधि निवासमा बसेको बैठकको निरन्तरता भएको नेताहरुले जनाएका छन् । पार्टीभित्र तीन नेताको पहलमा वृहत एकता गर्ने समझदारी भएको नेता सिंहले बताए। आफ्नो समूहलाई दीर्घकालीन बनाउने विषयमा नेताहरुबीच सैद्धान्तिक समझदारी बनेको महामन्त्री कोइराला निकट स्रोतले बतायो । आगामी महाधिवेशनमा सभापतिमा तीनमध्ये एक उठ्ने र अरु दुईले समर्थन गर्ने गरी छलफल अघिबढेको बताइएको छ। संविधानले व्यवस्था गरेको वाध्यात्मक प्रावधानअन्तर्गत नेपाली कांग्रेसले आगामी भदौ १९ गते १४औँ महाधिवेशन सम्पन्न गर्दैछ । कोरोना संक्रमणको विषम परिस्थिति विद्यमान रहेका कारण नेपाली कांग्रेसको महाधिवेशनले नेतृत्व छनौटबाहेक अरू मामिलामा गृहकार्य गर्ने संभावना देखिन्न । तर नेतृत्व छनौट पनि पार्टीका लागि धेरै माहत्वपूर्ण मामिला हो । नेपाली कांग्रेसको सन्दर्भमा त सबैभन्दा महत्वपूर्ण मामिला हो । नेपाली कांग्रेसको गौरवशाली इतिहासबारे जनता भलिभाँती जानकार छन् । जनअधिकार प्राप्तिका लागि अहिलेसम्म मुलुकमा भएका सबै संघर्षहरूको नेतृत्व गरेको एक मात्रै पार्टी नेपाली कांग्रेस हो भन्ने कुरामा पनि जनता भलिभाँती जानकार छन् । नेपाली कांग्रेसले अँगालेका विचार र सिद्धान्तहरू अकाट्य छन्, नेपाली कांग्रेसको विचार र सिद्धान्त नै वर्तमान शासन व्यवस्था हो भन्ने यथार्थता पनि जनताले बुझेका छन् । त्यसैले जनताले विश्वास गर्ने नेतृत्व आगामी महाधिवेशनले छान्यो भने मात्रै पनि अब डेढ वर्षभित्र सम्पन्न हुने मुलुकका महत्वपूर्ण निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्न नेपाली कांग्रेसलाई कुनै शक्तिले छेक्न सक्दैन । जनता समुन्द्र हुन् । पानी उठाउन नेपाली कांग्रेस गौवा लिएर जान्छ कि, घैला लिएर जान्छ कि, रोचा लिएर जान्छ वा डोको लिएर जान्छ ? भन्ने प्रश्नको छिनोफानो आसन्न महाधिवेशनले गर्छ । यथार्थमा भन्नुपर्दा शेरबहादुर देउवालाई नै पार्टी सभापतिमा निरन्तरता दिनु भनेको डोकोमा पानी थाप्नुजस्तै हो । प्रधानमन्त्रीका रूपमा जनताले देउवाको चार कार्यकाल अनुभव गरिसकेका छन् । यी चारै वटा कार्यकालप्रति जनता तीव्र रूपमा असन्तुष्ट छन् । मुलुकमा उत्पन्न विकृति र विसंगतिका मुख्य सूत्रधारका रूपमा जनताले देउवाको मूल्यांकन गरेका छन् । पहिलो कार्यकालमा सांसद खरिद बिक्री तथा पजेरो काण्ड, दोस्रो कार्यकालमा प्रजातन्त्र दरबारमा बुझाएको काण्ड, तेस्रो कार्यकालमा राजालाई थप अधिकार दिएको काण्ड र चौथो कार्यकालमा प्रधानन्यायाधीश सुशीला कार्की माथिको महाअभियोग तथा ७६ जनाको मन्त्रिमण्डल बनाएको काण्ड विशेष रूपमा चर्चित छन् । अब पाँचौँपटक यस्तै काण्डका लागि नेपाली कांग्रेसलाई किन भोट दिने ? भन्ने प्रश्न आमनिर्वाचनमा जनताले उठाए भने कांग्रेसका कार्यकर्ताहरूले के जवाफ दिने ? देउवा वास्तवमा डोको नै हुन् । डोकोमा त पानी अडिँदैन । रामचन्द्र पौडेल गौवा हुन् । गौवामा भन्दा घैलामा धेरै पानी अटाउँछ । घैलामा भन्दा रोचामा धेरै पानी अटाउँछ । तर कांग्रेस भित्रका गौवा को हुन् ? घैला को हुन् ? रोचा को हुन् ? भन्ने खोजी गर्ने जिम्मेवारी महाधिवेशन प्रतिनिधिहरूको हो । मुलुकमा मुख्यतया तीन वटा समुदाय छन् । खस–आर्य, मधेसी र जनजाति । सौभाग्यले नेपाली कांग्रेस मात्रै मुलुकको यस्तो पार्टी हो जहाँ मधेसी समुदायका विमलेन्द्र निधि, जनजाति समुदायका प्रकाशमान सिंह र खस–आर्य समुदायका डा.शशांक कोइराला नेतृत्वका लागि सबै हिसाबले तयार छन् र सक्षम छन् । यी तीनै जना एक ठाउँमा उभिएर सामूहिक नेतृत्व गर्ने अवसर चौधौ महाधिवेशनले प्रदान ग¥यो भने रोचा निर्माण हुनेछ । जनताका लागि यहाँभन्दा खुसीको कुरा अर्को हुनै सक्दैन । जनताले खुसीका साथ रोचा भरिदिनेछन् । यी तीन जनापछि गगन थापा, कल्याण गुरुङ र महेन्द्र यादव तयार छन् ।