वैकल्पिक सरकार बन्ने अवस्थामा संसद् विघटन गर्न मिल्दैन



काठमाडौँ । प्रतिनिधिसभा विघटन संबन्धि मुद्दामा बुधबारदेखि सुनुवाई सुरु भएको छ । सुनुवाईका क्रममा बहस गर्दै अधिवक्‍ता खम्बबहादुर खातीले वैकल्‍पिक सरकार बन्‍ने अवस्‍थामा संसद् विघटन गर्न नमिलन्ने दाबी गरेका छन् । संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहसमा भाग लिँदै शेरबहादुर देउवाका वकिलसमेत रहेका खातीले भने –‘वैकल्पिक सरकार बन्ने विकल्प हुँदाहुँदै मध्यरातमा संसद् विघटन गरिनु ठूलो षठयन्त्र हो ।’
‘संविधानले जबसम्म विकल्प रहन्छ तबसम्म संसद् विघटन गर्न सक्दैन भन्ने परिकल्पना गरेको छ,’ उनले भने, ‘१४९ जनाको समर्थन छ । वैकल्पिक सरकार भनेको केपी ओलीसहितको नभई ओलीरहितको भन्ने विषय हो । प्रतिनिधि सभाको १४९ को सदस्यको मत प्राप्त शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ । राष्ट्रपति सेरेमोनियल किङ जस्तै हो । कुनै पनि प्रतिनिधि सभा दलीय व्यवस्था लागू हुन्छ कि हुँदैन ? प्रधानमन्त्रीले राजीनामा दिए पनि/नदिए पनि उहाँ प्रधानमन्त्री पदबाट मुक्त भएको अवस्था हो। प्रतिनिधि सभाको विघटन ७६(७) मा प्रधानमन्त्रीले ५ को बमोजिम सरकार गठन नभएमा राष्ट्रपतिले वैकल्पिक सरकारको मार्गप्रशस्त गर्ने उल्लेख छ । वैकल्पिक सरकार बन्ने देखिएपछि मध्यरातमा संसद् विघटन भएको देखिन्छ ।’

दुवै जनाको दाबी नपुग्‍ने भन्‍नेमा धेरै बहसको गुन्‍जाइस नभएको उनले दाबी गरे । ‘१४९ जनाको दाबी पेस गरेको मान्यता दिने, १५३ जनाको दाबी हुने भन्ने बहसको विषय हो । यसरी हेर्दा प्रतिनिधि सभामा ३०२ जना हुने रहेछ । प्रतिनिधि सभामा ३०२ जना हुने अवस्था छैन । दुवै जनाको दाबी नपुग्ने भन्दै केपी शर्मा ओलीलाई निरन्तरता दिइएको पाइयो । व्याख्याको धेरै गुन्जाइस पनि देखिदैन,’ उनले भने ।