वार्ता चलिरहँदा इजरेलद्वारा इरानको परमाणु कार्यक्रमको कटु आलोचना



इजरेलका प्रधानमन्त्रीले संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूलाई इरानको खतराबाट ‘ब्युँझन’आह्वान गरेका छन्।

इरानको परमाणु कार्यक्रमलाई सीमित तुल्याउन वार्ताहरू चलिरहँदा नाफ्ताली बेनेटले इरान ‘क्रूर रूपमा झुन्ड्याएर मृत्युदण्ड दिने सत्ता’ भएको र उसले परमाणु अस्त्र चाहेको बताए।


इरानले त्यस्ता आरोप बारम्बार अस्वीकार गरिरहेको छ।

कूटनीतिज्ञहरूले राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिका अलग भएको परमाणुसम्बन्धी सम्झौतालाई नवीकरण गर्न प्रगति भइरहेको बताएका छन् तर अझै फरक मतहरू रहेको पनि उल्लेख गरेका छन्।

इजरेलले उक्त सम्झौताको विरोध गर्दै आएको छ।

इरानले देशका अति पुरातनवादी विचार राख्ने सर्वोच्च न्यायाधीश एब्राहिम राइसीलाई नयाँ राष्ट्रपतिका रूपमा शुक्रवार चुनेको थियो।

अगस्टमा जिम्मेवारी सम्हाल्ने उनीमाथि अमेरिकी प्रतिबन्ध छ र राजनीतिक बन्दीहरूलाई विगतमा मृत्युदण्ड दिएको आरोप लागेको छ।

गएको एप्रिल यता संयुक्त राज्य अमेरिका, यूके, फ्रान्स, चीन, रुस र जर्मनीले इरानसँग परमाणु अस्त्र सम्झौतालाई पुन: सक्रिय बनाउन वार्ता गरिरहेका छन्। सन् २०१५ मा सम्झौता भएपछि इरानले प्रतिबन्धहरू खुकुलो पारिएका जवाफमा आफ्ना परमाणु गतिविधिलाई केही सीमित तुल्याएको थियो।