लाङ्टाङ राष्ट्रिय निकुञ्जले पर्यटकीय मार्ग निर्माण गर्ने



लाङ्टाङ राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा गरेका विकास निर्माणको गतिविधि सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा पर्यटकीय पदमार्ग निर्माण एवं मर्मत, पर्यटकीय टिकट काउन्टर, पर्यटकीय प्रवेशद्वार एवं मानव तथा वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल र आवादी जमीनको सिमानामा तारबार निर्माण गर्ने काम सम्पन्न गरेको निकुञ्ज कार्यालयले जनाएको छ । संरक्षणको जागरण एवं पदमार्ग तथा तारबार समेतका निर्माणको काम सम्पन्न गराउन समग्रमा रू एक करोड १९ लाख ३८ हजार १६५ खर्च भएको प्रमुख संरक्षण अधिकृत सुषमा रानाले जानकरी दिइन् ।

स्याफ्रुबेँसीदेखि रिम्चे हुँदै लाङ्टाङसम्मको पदमार्गअन्तर्गत सात किलोमिटर भूभागमा मर्मत एवं पुनः निर्माण सम्पन्न गरी नेपालको तेस्रो पर्यटकीय गन्तव्य क्षेत्रको प्राकृतिक छटा अवलोकन गर्न जाने आन्तरिक एवं बाह्य पर्यटकलाई यात्रामा सहज बनाइएको बताइएको छ । यस्तै निकुञ्जअन्तर्गत सूर्यकुण्डदेखि नुवाकोटको ठाडेपाटीसम्म सात किलोमिटर पर्यटकीय पदमार्ग मर्मत तथा निर्माण, नुवाकोटको कुटुमसाङमा पर्यटकीय टिकट काउन्टर एवं पर्यटकीय प्रवेशद्वार समेत निर्माण गरिएको निकुञ्जका वन प्राविधिक रमेश बस्नेतले जानकारी दिए ।