राष्ट्रिय जनगणना साउनदेखि असोजसम्म सम्पन्न गर्ने तयारी



काठमाडौं, १५ असार । दश वर्षपछि पुनः शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम २०७८ असोजभित्रमा सम्पन्न गर्ने गरी कार्यक्रम शुरु गरिएको तथ्याङ्क विभागले जनाएको छ । कोरोना महामारीका कारण स्थगित भएको जनगणना कार्यक्रम साउन, भदौ र असोजभित्रमा सम्पन्न गर्ने गरी प्रस्ताव सरकार समक्ष लाग्ने तयारी भएको तथ्याङ्क विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेले जानकारी दिए।

यसअघि सरकारले जेठ २५ देखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो तर कोरोनाको सङ्क्रमणको दोस्रो लहर बढेसँगै गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले स्थगित गर्ने निर्णय गरेको थियो । राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना, २०७८ आगामी साउनदेखि असोजभित्रसम्म सम्पन्न गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव समितिले मन्त्रिपरिषदमा प्रस्तुत गर्ने भएको छ । मन्त्रिपरिषदबाट प्रस्ताव पास हुनासाथ कार्यक्रम तालिका बनाएर तीन महिनाभित्रमा गणना सम्पन्न गर्ने विभागले तयारी शुरु गरेको शाखा प्रमुख लामिछानेले जानकारी दिए।


विभागले ७७ जिल्ला तथा सातवटै प्रदेशमा कार्यालय स्थापना गरिसकेको छ भने जनगणनाका लागि आठ हजार सुपरिवेक्षक र ३९ हजार गणक छनोट गरिसकेको छ । राष्ट्रिय प्रशिक्षक सहजकर्ता, प्रदेश तथा जिल्ला जनगणना अधिकारी तालिम, प्रदेशस्तरीय मुख्य प्रशिक्षक प्रशिक्षण, स्थानीय जनगणना अधिकारी तालिम सम्पन्न भइसकेको छ ।

विभागले जिल्ला तथा स्थानीय तहमा हुने तालिमका लागि तालिम केन्द्र र प्रशिक्षण सामग्री तयार गरी सबै तालिम केन्द्र र जिल्लामा यसअघि नै पठाइसकेको थियो । सरकारले जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा तय गरेको र जनगणनाका लागि एक अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
दशदश वर्षमा गरिने राष्ट्रिय जनगणना कार्यक्रमको करिव ८५ प्रतिशत काम सम्पन्न गरिसकेको विभागले जनाएको छ । विभागले एक गाउँपालिकामा १० जनासम्म गणक पठाएर गणना गर्नेछ । दश वर्षपछि हुने जनगणना कार्यक्रम मात्र नभएर राष्ट्रिय पर्वको रुपमा लिएर यो कार्यक्रम गर्ने सरकारको तयारी छ ।