भारतमा कोरोनाका कारण थप ५१ हजार सङ्क्रमित, १३ सयको मृत्यु



११ असार । भारतमा कोरोनाभाइरसबाट थप ५१ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले थप ६४ हजार ५२७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेकाहरुको कुल सङ्ख्या दुई करोड ९१ लाख २८ हजार २६७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप एक हजार ३२९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या तीन लाख ९३ हजार ३१० पुगेको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या कुल सङ्ख्या छ लाख १२ हजार ८६८ रहेको मन्त्रालयले जनाएको छ । भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ३९ करोड ९५ लाख ६८ हजार ४४८ स्वाब परीक्षण गरिएको जानकारी दिएको छ ।


पछिल्लो एक दिनमा १७ लाख ३५ हजार ७८१ जनाको स्वब परीक्षण गरिएको परिषद्को तथ्याङ्क छ । एकैदिनमा ठूलो संख्यामा कोरोनाभाइरस विरुद्धको खोप लगाउने मुलुक समेत रहेको भारतमा बिहीबार मात्रै ६० लाख ७३ हजारभन्दा बढीलाई खोप लगाइएको छ । भारतमा अहिलेसम्म कुल ३० करोड ७९ लाख खोप प्रयोग भएको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।