बेलायतमा फेरी बढ्दै सङ्क्रमितकाे संख्या



९ असार। बेलायतका अधिकारीहरुले यहाँ कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको बताएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ गएको फेब्रुअरी महिनादेखि यता दैनिक सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेको बताएको हो । यहाँ सोमबार मात्र ११ हजार ६२५ जना नयाँ सङ्क्रमित थपिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

चौबीस घन्टा यता यतिधेरै सङ्क्रमित थपिएको गएको फेब्रुअरी महिनापछि यो पहिलो पटक भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको मंगलबार बेलायतका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । पछिल्ला यी सङ्क्रमितहरु समेत गरी आजसम्म बेलायतमा सङ्क्रमित हुनेको संख्या ४६ लाख ५१ हजार पुगेको पनि बताइएको छ ।


त्यसैगरी २४ घन्टामा यहाँ २७ जनाको कोरोनाका कारण निधन भएको छ । यो समेत गरी बेलायमा यस सङ्क्रमणबाट १ लाख २८ हजार जनाको ज्यान गएको छ । उता सरकारले कोरोना भाइरसको संक्रमणका कारण देशमा लगाएका प्रतिबन्धहरु हटाउने क्रममा रहेको बताएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले सो कुरा बताउनुभएको हो । उहाँले निकै लामो समयदेखि जारी रहेका कतिपय प्रतिबन्धहरु हटाउने प्रक्रियामा रहेको बताउनुभएको समाचारमा जनाइएको छ ।