काठमाडौं । मंगलबार आएको बाढीले बाँध स्थलमा गम्भीर क्षति पु¥याएका कारण मेलम्चीको खानेपानी काठमाडौं आउन करिव चार महीना पर्खनु पर्ने अनुमान गरिएको छ । आयोजनाका तीन भातरीय, तीन चिनियाँ र दुईजना नेपाली कामदार हराइरहेका छन् ।
बाँधस्थल पुग्ने करिब दुई किमी पहुँच सडक समेत बाढीले गाएको छ । चनौटेमा रहेको पक्की पुलमा पनि क्षति पुगेको छ भने आयोजनास्थलमा रहेको बेलीब्रिज बगाएको छ ।
पानी कम भएपछि मात्रै साइटमा जाने योजना कर्मचारीहरुले बनाएका छन् । त्यसका लागि अहिले क्षतिग्रस्त बनेको एक्सेस रोड र पुल बनाएर जानुपर्ने हुन्छ । त्यसका लागि मात्र दुई महिना लाग्न सक्ने अनुमान छ ।
आयोजनाको मुहानस्थल अम्बाथानमा रहेको कामदारहरु बस्ने क्याम्प, उपकरण, निर्माण सामग्री, पहुँच सडक, पुल लगायतका संरचनाहरु सबै बगाएको छ। हेडवर्क्स पनि पूर्णरुपमा बाढीमा डुबेको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले भने– ‘त्यहा जान सकिने अवस्था छैन । ड्रोनबाट हेर्दा हेडवर्क्सका संरचनाको पोजिसनिङ ठिकै देखिन्छ । तर पूरै हिलोले भरिएको छ, हिलो र लेदो हटाएपछि मात्रै संरचनाको वास्तविक अवस्था थाहा हुन्छ ।’
पन्तका अनुसार हेडबक्समा क्षति पुगेको नदेखिए पनि अरु अस्थायी संरचनामा भने क्षति पुगेको छ । कफर ड्याम पूरै हिलोमा छोपिएर क्षति पुगेको छ । स्थायी हेडवर्क्स नबनेका कारण पानी पथान्तरण कफर ड्यामबाटै भइरहेको थियो । अहिले नै मेलम्ची आयोजनामा करोडौको क्षति भएको देखिएको छ ।
पन्तले भने –‘के कति क्षति भयो भन्ने यकिन भएपछि निर्माण गर्ने योजना बन्छ अनि भन्न सकिन्छ। कहिलेसम्म पानी पर्ने हो अझै कति क्षति हुने हो भन्ने केही पनि भन्न सकिने अवस्था छैन, अहिले मेलम्ची अनिश्चित बनेको छ । हाम्रो पहिलो प्राथमिकता उद्दार नै हो । आठजना नेपाली कामदार हराइरहेका छन्। सबै संयन्त्र त्यसैको खोजीमा लागेका छौ । पानी कम भएपछि साइट जाने तरखर पनि हुन्छ ।’
मेलम्चीको हेडवक्र्स नजिकैको क्याम्प साइट बाढीले बगाएपछि रातीदेखि नै प्रहरी प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोग लिएर समितिले खोजी तथा उद्दारको काम सुरु गरेको थियो । हेलिकोप्टरमार्फत ७६ जनाको उद्दार गरी काठमाडौं र धुलिखेल ल्याइएको थियो ।
आयोजनाको काम सकेर चैत १० गतेबाट मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परीक्षण सुरु गरिएको थियो । चैतमध्यदेखि काठमाडौं उपत्यकामा यसको पानी वितरण नै सुरु गरिएको थियो । सुरुङमार्गको निरिक्षणका लागि असार १ बाट दुई महिनाका लागि आयोजनाको पानी वितरण बन्द गरिएको थियो । बन्द गरिएकै दिन बाढी आएको थियो । एक किसिमले बन्द गर्नु बरदान जस्तै सावित भयो ।
बाढीले आयोजनाक बाँध स्थलका विभिन्न संरचनामा क्षति पुगेको भएपनि यसको मुख्य सुरुङ तथा पानी प्रशोधन केन्द्रमा कुनै गम्भीर क्षति भएको छैन ।