पोखरा– असारको पहिलो दिन नै वर्षाले गण्डकी प्रदेशका सबैजसो जिल्ला प्रभावित भएको छ । २४ घण्टा भन्दा बढी समयदेखिको लगातारको वर्षाले कास्की, मनाङ, पर्वत, बाग्लुङ, नवलपरासी लगायतका जिल्लाहरू प्रभावित भएका हुन् ।

लगातार परेको वर्षाले नारायणी नदीमा पानीको बहाव उच्च भएको छ । नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले मंगलबार दिउँसो चेतावनीको सतह पार गरेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।नारायणी नदीको जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको हो ।
गण्डक ब्यारेजमा ढोका खोल्ने समयमा दुई लाख क्युसेक पानी मापन गरिएको थियो ।

गण्डक ब्यारेजमा दुई लाख पचास हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ ।

मादी हाइड्रोपावरमा क्षति

लगातारको वर्षापछि आएको भारी वर्षाका कारण आएको बाढीका कारण कास्कीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ ।

लगातार परेको वर्षाका कारण आएको बाढीले हाइड्रोपावरमा रहेका मेसिनरी उपकरणहरुका साथै हाइड्रोपावरका निर्माण सामग्रीहरुमा क्षति पुगेको छ । बाढीले झण्डै १५ करोड बराबरको क्षति भएको हाइड्रोका सञ्चालक धनराज आचार्यले बताए ।

उनका अनुसार बाढीले कम्पनीको निर्माण स्थलमा रहेका एक्स्काभेटर, लोडरका साथै ठूलो परिमाणका निर्माण सामग्रीहरु बगाएको छ ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुभाष हमालले हाइड्रोपावरमा भएको बाढीको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताए ।

सेतीवेणीको शालिग्राम क्षेत्र डुबानमा
लगातारको वर्षाले पर्वतको सेतिवेणीको शालिग्राम क्षेत्र डुबानमा परेको छ ।

लगातारको वर्षापछि कालीगण्डकीमा आएको बाढीले पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको बिहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको स्थानीयले बताए ।

कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च रहेको स्थानीयको भनाइ छ । मंगलबार बिहान ४ बजेदेखि नै बजार क्षेत्र डुबानमा परेको थियो । डुबानका कारण स्थानीय १० घर परिवार विस्थापित भएका छन् ।

सेतीवेणी बजार डुबानमा पर्नुका साथै पानीको सतह बढ्दै गएपछि कालीगण्डकी आससासका बासिन्दा त्रसित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीकोअनुसार कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’ को बाँधका सबै ढोका खोल्न लगाइएको छ ।

मुस्ताङको मुक्तिक्षेत्रका लुप्रा गाउँ जोखिममा
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढीले लुप्रा गाउँका बासिन्दा जोखिममा छन् ।

बाढीले यहाँका १५ घर उच्च जोखिममा पर्नुका साथै सबै घर सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

हिउँ पग्लिनुका साथै लगातारको वर्षाले गर्दा ठूलो बाढी आएको स्थानीयको भनाइ छ । वर्षा हुने क्रम नरोकिँदा स्थानीय त्रसित छन् ।

बाग्लुङ बजार जलमग्न
लगातारको वर्षाले बाग्लुङ जिल्लाको बाग्लुङ बजार क्षेत्र जलमग्न भएको छ । अव्यवस्थित नालाका कारण बागलुङ बजारको रातामाटादेखि आएको भेल पसेर बागलुङ बजार जलमग्न भएको हो ।

बागलुङ बजारमा अव्यवस्थित नालीका कारण बागलुङ बजार जलमग्न भएको हो ।

मुख्यगरी बागलुङ बजारको शिवधाराचोक, लालीगुराँस चोक, पुरानो गोदाम चोक जलमग्न भएका छन् ।

दाउन्ने पहिरोले राजमार्ग अवरुद्ध

लगातारको वर्षापछि दाउन्नेमा आएको पहिराले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । नवलपरासीको दाउन्ने क्षेत्रमा दर्जनौं ठाउँमा पहिरो गएको छ । पहिरोले दिउँसोबाट नै बाटो थुनिएपछि आफू बर्दघाटतर्फ नै फर्किएको खाद्य सामग्री लिएर नारायणघाटतर्फ आउँदै गरेका बुटवल खैरेनीका गोकुल तिवारीले बताए ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि पहिरो हटाउने काम जारी राखिएको प्रहरीले जनाएको छ ।